काठमाडाैँ - भारी हिमपात र अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय बेँसी झरेका छन्। कात्तिक महिना लागेसँगै चिसोबाट बच्न चार महिनाका लागि पोखरा तथा आसपासका क्षेत्रमा शिक्षक, कर्मचारी सहित स्थान्तरण गरिएको हो।
चिसोका कारण शैक्षिक गतिविधि प्रभावित हुने भएपछि लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका सामुदायिक तथा गुम्बा स्कुललाई आफ्नो वार्षिक कार्यतालिका अनुसार पोखरा तथा आसपासका क्षेत्रबाट पठनपाठन सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका प्रमुख चन्द्रसिङ विकले बताए।
एकाइ प्रमुख विकले भने, ‘गर्मी सुरू भएपछि विद्यार्थी लिएर विद्यालय फर्किन्छन्, जाडो मौसममा विद्यार्थीलाई माथिल्लो क्षेत्रमा पठनपाठन सञ्चालन गर्न सम्भव हुँदैन।’ लोमान्थाङ गाउँपालिकाबाट दिव्यदिप मावि, छोन्हुप झिन्झु आधारभुत विद्यालय, राष्ट्रिय आधारभुत विद्यालय, निफुक नाम्डोल गुम्बा, महाकरुणा शाक्यापा, मञ्जुश्री गुम्बा लगायतका बौद्ध शिक्षा प्रदान गर्ने विद्यालय तिहार अगाडि नै पोखरामा झरेका छन्।
त्यस्तै, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाबाट चराङ मावि, घमी मावि, जनज्योति आधारभूत विद्यालय घिलिङसहित बौद्ध शिक्षा सञ्चालन गरिरहेका गुम्बाले विद्यार्थी आफ्नो पायक पर्ने स्थानहरूमा लगेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ।
आफ्नै भवन भएका विद्यालयलाई सहज छ भने भाडामा भवन लिएर पठनपाठन सञ्चालन गर्नेलाई गाउँपालिकाले समेत प्राथमिकता दिएर अनुदान विनियोजन गर्ने गरेको छ। जाडो मौसममा घुम्ती विद्यालय सञ्चालन गर्न लोमान्थाङ गाउँपालिका-२, छोसेरमा रहेको दिव्यदिप माविले पोखरा नगरपालिका-२६, विजयपुरमा रहेको आफ्नै विद्यालयको भवनबाट पठनपाठन गर्न थालिसकेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताए।
प्रअ त्रिपाटीले भने, ‘गर्मी लागेपछि मात्र विद्यार्थी लिएर फर्किन्छौं, हिमाली आवासीय सुविधा पठनपाठनमा खर्च हुन्छ।’ विद्यालयको घुम्ती शिक्षाको सुविधाका कारण मुस्ताङ बाहेक अन्य विभिन्न जिल्लाका विद्यार्थीले पठनपाठन गर्नेगरेका छन्। यस विद्यालयमा म्याग्दी, बागलुङ, धनुषा, रूपन्देही लगायतका विद्यालयका ३० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
मुस्ताङमा सामुदायिक विद्यालयलाई घुम्ती कक्षा सञ्चालन गर्ने स्थानीय तहले समेत हिमाली आवासीय अन्तर्गत बजेट विनियोजन गर्ने गरेको छ। नेपाल सरकारको मान्यता प्राप्त गुम्बा विद्यालयलाई सरकार तथा अन्य दातृ निकायले सहयोग गर्ने गरेका छन्। उपल्लो मुस्ताङका शैक्षिक संस्था बेँसी झरे पनि तल्लो क्षेत्रका विद्यालयहरू पुसदेखि माघ मसान्तसम्म वार्षिक तालिका अनुसार बिदा दिने गरिन्छ। विगतका वर्षमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको दुई विद्यालय विगतमा पोखरामा जाने गरेकोमा यसपटक भने गएका छैनन्।
तल्लो मुस्ताङमा रहेको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले वार्षिक क्यालेन्डरअनुसार जाडो समयमा विद्यालय बन्द गर्ने गरेको छ । चिसोमा उपल्लो क्षेत्रमा माइनस तापक्रमका कारण जनजीवन अस्तव्यस्त बन्ने गरेको छ।
यसैबिच मुस्ताङवासी चिसो छल्न र त्यसबाट बच्न बेँसीतर्फ झरिरहेका छन्। चिसो छल्न बेँसी झरेका मुस्ताङीहरु माघ महिनासम्म मध्यनेपालको विभिन्न जिल्लासहित छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्दछन्। तिब्वत र मुस्ताङमा उत्पादित दैनिक उपभोग्य सामानहरु समेत बिक्री गर्छन्। चिसो छल्न बेँसी झरेका मुस्ताङीहरू चैत महिनामा मात्र जिल्ला फर्किन्छन्।लोमान्थाङ गाउँपालिका-२, छोसेरको दिव्यदिप माविले पोखरा नगरपालिका-२६, विजयपुरमा रहेको आफ्नै भवनबाट कक्षा सञ्चालन गरिएको छ। यस विद्यालयमा तराईका जिल्लाका विद्यार्थी समेत अध्ययनरत छन्।