काठमाडौँ- काठमाडौँ महानगरपालिकाले लागु गरेको पुस्तकरहित शुक्रबार कार्यक्रम सामुदायिक विद्यालयको शैक्षिक सुधारका प्रभावकारी औजारका रूपमा स्थापित हुँदै गएको छ।
रानीदेवी माध्यमिक विद्यालयमा शुक्रबारका क्रियाकलाप अवलोकन गर्दै उपप्रमुख सुनिता डंगोलले विद्यार्थीको अनुहारमा देखिएको उत्साह, सक्रिय सहभागिता र सिकाइप्रतिको जिज्ञासाले कार्यक्रमले वास्तविक प्रभाव पारेको बताइन्। डंगोलका अनुसार कक्षाभित्र पुस्तकमै सीमित रहने पुरानो परम्परा हट्दै गएको छ र विद्यार्थीले घर तथा समाजमा देखाउन थालेको व्यवहारिक सिपले अभिभावकसम्म सन्तुष्टि पुर्याएको छ।
डंगोलले मूल्यांकन प्रणाली पनि अब केवल प्रमाणपत्रका अंकमा निर्भर नहुने बताउँदै बालबालिकाको सामाजिक आचरण, मानसिक अवस्था, व्यवहारिक ज्ञान र सिपको प्रभावलाई समेत मूल्यांकनको आधारमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरिन्।

अवलोकनका क्रममा वडा नम्बर ३ का अध्यक्ष तथा महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले कक्षामा सिकाएको सिप विद्यार्थीले दैनन्दिन जीवनमै प्रयोग गर्न थालेको अनुभव सुनाउँदै कार्यक्रम कोट्याउन लायक बनेको बताए। महानगरले सुरु गरेको बुक फ्री फ्राइडे ले विद्यार्थीलाई रुचिअनुसार सिकाइमा संलग्न हुन र व्यवहारिक अभ्यासमार्फत आत्मविश्वास बढाउन सहयोग पुर्याएको निमित्त शिक्षा अधिकारी केशवप्रसाद ज्ञवाली बताउँछन्।
रानीदेवीका प्रधानाध्यापक नारायणप्रसाद गौतमका अनुसार विद्यार्थीको सिकाइ उपलब्धि अब ग्रेड नभई सिप र क्षमताबाट मापन गर्ने प्रवृत्ति विकसित हुँदै गएको छ। यसअन्तर्गत कक्षा १ देखि ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्म २५ विधामा ‘सिर्जनात्मक सिकाइ’ र कक्षा ९ तथा १० मा १० विधामा आधारित ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन हुँदै आएको छ।
शिक्षा सुधारलाई थप मजबुत बनाउन महानगरले टिचर्स कलेजमार्फत शिक्षक क्षमता विकास कार्यक्रम, डाउन सिन्ड्रोम तथा अटिजमजस्ता विशेष आवश्यकता भएका बालबालिकाका लागि कक्षा सञ्चालन तथा आवश्यक सहयोगी सहजकर्ताको परिचालनजस्ता पहल पनि अघि बढाएको छ।प्रारम्भिक बाल विकास तथा शिक्षासम्बन्धी राष्ट्रिय मापदण्डअनुसार कक्षाहरू सञ्चालन गर्दै बालमैत्री सिकाइ वातावरण निर्माणमा जोड दिइएको छ।

सैद्धान्तिकभन्दा व्यवहारिक र जीवनोपयोगी सिकाइलाई प्राथमिकतामा राख्दै महानगरले ‘गरी खाने शिक्षा’, विद्यालय सरसफाइलाई लक्षित ‘हरित विद्यालय’ र खेलकुद तथा सिर्जनात्मक गतिविधि प्रवर्द्धन गर्न ‘रचनात्मक विद्यालय’ कार्यक्रमसमेत लागु गरेको छ। काठमाडौँ महानगरमा ८७ सामुदायिक विद्यालय रहेका छन् जसमा ३ वटा कारागारभित्र, ४ विशेष विद्यालय, १ रात्री विद्यालय र १ संस्कृत विद्यालय समावेश छन्।