काठमाडाैँ - शैक्षिक सत्रको बिचमा एकै नगरपालिकाभित्र रहेका १० वटा विद्यालय मर्ज भएका छन्। बसाइँसराइ लगायतका कारणले विद्यार्थी सङ्ख्या कम भएपछि बैतडिस्थित मेलौली नगरपालिकाले १० वटा आधारभूत विद्यालय मर्ज गरिएकाे हो।
शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज भएपछि विद्यार्थी अर्को विद्यालय जान बाध्य भएका छन्। औसतमा १०/१२ जना मात्रै विद्यार्थी सङ्ख्या भएका १० वटा आधारभूत विद्यालय मर्ज भएको मेलौली नगरपालिकाको शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीले बताए।
नगर कार्यपालिकाको निर्णय अनुसार मर्ज भएका विद्यालय नैनेश्वरी आधारभूत विद्यालय, केदारेश्वर आवि, भूमिराज आवि, पित्रिपुर आवि, भवानीस्थान आवि सुनौलो आवि, शिवशङ्कर आवि, नेत्रज्योति आवि र नवज्योति आवि रहेका छन्। यीमध्ये सुनौला आवि तिताबै र भूमिराज आवि बेउराडीमा बाल विकाससमेत नरहने गरेर मर्ज भएको छ।
अन्यमा भने बाल विकास सहजकर्ता रहने गरेर मर्ज गरिएको शिक्षा शाखा प्रमुख क्षेत्रीले बताए। उनले भने, 'मर्ज गरिएका विद्यालयको शिक्षक दरबन्दी पुलमा रहने गरी शिक्षक र कार्यालय सहयोगीलाई अन्यत्र विद्यालयमा सरुवा गरिएको छ। विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्ज गर्ने सङ्घीय सरकारको नीति अनुसार नगरपालिकाले निर्णय गरेको हो।'
तीन वर्षअघिसम्म ८० जना विद्यार्थी सङ्ख्या रहेको भूमिराज आधारभूत विद्यालय बेउराडीमा यो वर्ष छ जना मात्र भर्ना भएकाले नगरपालिकाले मर्ज गरेको व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दले बताए। उनले विद्यालय मर्ज भएपछि गाउँबाट बसाइसरेर जान नसक्ने अभिभावक बालबच्चालाई नजिकको अर्को विद्यालय लैजान थालेको बताए। आधारभूत तहमा अध्ययन गर्ने बालबालिका सानै भएकाले विद्यालय पु¥याउन र ल्याउन अभिभाक आफैँ खटिएको बताए।
विद्यालय मर्ज हुने निर्णयपछि मैलौली नगरपालिका-९, जिमरा दलित टोलका अभिभावक विद्यालयमै पुगेर रुन थालेको वडाध्यक्ष लोकराज भट्टले बताए। राज्यको लगानीका हिसाबले ५० प्रतिशत विद्यार्थी घटेको भनिए पनि अभिभावका लागि त घरका तीन जना विद्यार्थी शतप्रतिशत भएको उनले बताए। उनले भने, 'नवज्योति आवि स्थापना हुँदा जिमरा, मेलघट र खोली टोलका ६७ जना विद्यार्थी थिए। अहिले खोली र मेलघट टोल बसाइँसराइका कारण रित्तिएपछि जिमरा दलित टोलका मात्रै १०,१२ जना विद्यार्थी बाँकी रहेका छन्। विद्यालय मर्ज भएपछि यो टोलका बालबालिका ४५ मिनेटको दुरीमा रहेको विशालपुर मावि जान थालेका छन्।'
मेलौली नगरपालिका चितुवा प्रभावित क्षेत्र भएकाले टाढाको विद्यालय जाने विद्यार्थी त्रसित बनेको जिमरा टोलका दलित अगुवा करनराम लोहारले बताए। जिराटोलको पायक पर्ने नवज्योति आवि बन्द भएपछि यहाँका २२ जना विद्यार्थी विशालपुर मावि जाने गरेको उनले बताए।
मेलौली नगरपालिकाले यही भदौ ११ गतेको कार्यपालिका बैठकबाट विद्यालय मर्ज गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भने कात्तिकबाट सुरु भएको वडाअध्यक्ष भट्टले जानकारी दिए। शैक्षिक सत्रको बिचमा विद्यालय मर्ज हुँदा अभिभाव र विद्यार्थीले अप्ठ्यारो भएको गुनासो गरेको उनले बताए।