काठमाडाैँ - भारतीय दूतावासले पश्चिम बागलुङको बडिगाड गाउँपालिकास्थित श्री खार माध्यमिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ। नेपालका २५ विद्यालयमध्ये दूतावासले खार माविलाई बस सहयोग गरेको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेका अनुसार, बस संचालनको लागि छुट्टै समिति बनेको र नियमित सञ्चालन गर्न कोष निर्माणको तयारी समेत थालिएको छ। उनले स्कूल बस सेवालाई ग्रामिण क्षेत्रका विद्यार्थीलाई आवातजावतमा केन्द्रित गरिने बताए।
विद्यालयलाई स्कूल बस प्राप्त भएसंगै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले स्कुल बस संचालनको लागि पालिकाको नीतिले मिल्ने सहयोग गर्ने प्रतिवद्वता जनाएकी छन्। ‘विद्यालयका गतिविधी सार्वजनिक र बस सेवालाई निरन्तरता दिन विद्यालयले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ,’ अधिकारीले भनिन्।
लामो समयदेखि रिक्त रहेको गाउँपालिकाको शिक्षा अधिकृतको पदमा अबको एक हप्ताभित्र गण्डकी प्रदेश सरकारबाट कर्मचारी आउने र पालिकाका शैक्षिक गतिविधीले पनि तिव्रता पाउने अधिकारीले विश्वास व्यक्त गरिन्। दाताबाट प्राप्त बस सेवाले ग्रामिण क्षेत्रका बालबालिकालाई पढाईमा अभिप्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने अधिकारी बताइन्।
दूतावासले भिमगिठे स्वास्थ्य चौकीको भवन निर्माणका लागि पनि ४ करोडभन्दा बढी सहायता उपलब्ध गराएको छ। बडिगाड गाउँपालिका वडा नं. ७ भीमगिठेमा निर्माण गरिने स्वास्थ्य चौकीको भवनलाई ४ करोड ७ लाख १२ हजार रुपियाँ सहयोग गरेको छ । स्वास्थ्य चौकीको भवन बनाउन रकम उपलब्ध गराउन सम्झौता भएको छ।
दूतावासको विकास साझेदारी तथा पुननिर्माण कार्यक्रमअन्तर्गत भीमगिठेमा स्वास्थ्यचौकी भवन बनाउन भारतिय दूतावास र गाउँपालिकाबी सम्झौता भएको अध्यक्ष अधिकारीले जानकारी दिइन्। सम्झौता अनुसार, गाउँपालिकाले दूतावासले उपलब्ध गराउने बजेटमा पाँच प्रतिशत रकम साझेदारी गर्ने छ।
यसैबीच, नेपाल विद्युत प्राधिकरण, बुर्तिबाङ,पौदी,अमराई,तम्घास,सन्धिखर्क गोरुसिङ्गे १३२ केभि प्रसारण आयोजनाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत बडिगाडका पाँच विद्यालय, आमा समूह र मोटरबाटोमा १ करोड बराबरको काम हुने भएको छ।