काठमाडौँ- नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स परीक्षा वर्षमा तीन पटक सञ्चालन गर्ने भएको छ। यस्तै परीक्षा शुल्क दुई हजार पाँच सय रुपैयाँ लिने तयारी भएको छ। परिषद्ले यसअघि परीक्षा शुल्कबापत तीन हजार पाँच सय रुपैयाँ लिँदै आएको थियो। परीक्षा शुल्क एक हजार रुपैयाँ शुल्क घटाउने र इन्जिनियर दर्ता पाँच हजार रुपैयाँ कायम हुने परिषद्का रजिस्ट्रार शिवमंगल गिरीले जानकारी दिएका हुन्।
नेपाल इन्जिनियरिङ एसोसिएसनले बुधबार आयोजना गरेको इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजा र शिक्षाको गुणस्तर विषयक अन्तरक्रियामा रजिस्ट्रार गिरीले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार गर्न परिषद्ले ध्यान दिएको र लाइसेन्स परीक्षालाई पनि व्यवस्थित गर्दै अघि लाने बताएका छन्।
‘इन्जिनियरिङ लाइसेन्स परीक्षाको शुल्क तीन हजार पाँच सयबाट घटाएर दुई हजार पाँच सय रुपैयाँ कायम गरिएको छ। यसअघि परीक्षा दिएका विद्यार्थीको एक हजार फिर्ता हुन्छ। दर्ता शुल्क नेपाल सरकारबाट स्वीकृत भएर आउने प्रक्रियामा छ। आठ हजार दर्ता शुल्क रहेकोमा घटाउन प्रस्ताव गरिएको छ’, उनले भने।
परिषद्ले चैत दोस्रो साता सञ्चालन गरेको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका थिए। परीक्षामा सहभागी हुन दुई हजार ६ जनाले आवेदन फाराम भरेकामध्ये परीक्षामा एक हजार ९८१ जना सहभागी भएका थिए।
तीमध्ये पाँच सय ६५ जनामात्र उत्तीर्ण भए। ११ जनाको परीक्षा रद्द भएको थियो। परिषद्ले पहिलोपटक इन्जिनियरिङ व्यवसायदर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो। स्नातक तहमा इन्जिनियरिङ उत्तीर्ण गरेकाहरूले इन्जियरिङ पेसा सुरु गर्न परिषद्मा दर्ता हुनुपर्ने व्यवस्था छ। यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रका आधारमा दर्ता नम्बर उपलब्ध गराउँदै आएको थियो। इन्जिनियरिङ शिक्षा र पेसा थप मर्यादित बनाउने भन्दै परिषद्ले लाइसेन्स परीक्षा सुरु गरेको थियो।
विदेश अध्ययनमा जानुपूर्व शिक्षा मन्त्रालयले जारी गर्ने विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिन पनि लाइसेन्स परीक्षा उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०, १६:०५:००