काठमाडाैँ- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिमका चारवटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता गर्दै धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने व्यवस्था गरेको हो।
विश्वविद्यालयले आफ्नै तीन सय शय्याको शिक्षण अस्पताल विकास गरिरहेको भए पनि चिकित्सा शिक्षाको क्लिनिकल अभ्यास, तालिम तथा अनुसन्धानका लागि प्रदेशमा सञ्चालनमा रहेका अस्पतालको समेत उपयोग गर्ने गरी २० वर्षका लागि सम्झौता गरिएको जनाएको छ।
सम्झौतासँगै सुदूरपश्चिमका चारवटै अस्पताललाई विश्वविद्यालयको क्लिनिकल शिक्षा, तालिम तथा अनुसन्धानको आधारका रूपमा उपयोग गर्ने दीर्घकालीन ढाँचा तयार भएको विश्वविद्यालयको भनाइ छ। उपलब्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्य जनशक्ति, पूर्वाधार तथा बिरामी सेवासँग समन्वय गरी चिकित्सा शिक्षाको सुरुवात र विस्तार गरिने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका अनुसार गेटामा निर्माणाधीन आफ्नै शिक्षण अस्पतालको क्लिनिकल जिम्मेवारी र बिरामीको सुरक्षालाई स्पष्ट तथा व्यवस्थित राख्दै प्रदेशका अस्पतालसँग सहकार्य अघि बढाइनेछ।
विश्वविद्यालयले यसै वर्षदेखि एमबीबीएससहित चारवटा विधामा पठनपाठन सुरु गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा गेटामा तीन सय शय्याको आफ्नै शिक्षण अस्पताल पूर्ण रूपमा विकास गर्ने योजना रहेको जनाएको छ।
प्रदेशका अस्पतालसँगको सहकार्य दीर्घकालीन बनाउँदा सुदूरपश्चिमका नागरिकले थप लाभ लिन सक्ने भएकाले प्रदेश सरकारको सुझावअनुसार सम्झौताको अवधि २० वर्ष कायम गरिएको विश्वविद्यालयले जनाएको छ।