काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स, साइबर सुरक्षा र चिकित्सा शिक्षालाई प्राथमिकतामा राख्दै १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेटसँगै नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। रजिस्ट्रार पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सभाले स्वीकृत गरेको विश्वविद्यालयले जनाएको छ।
बदलिँदो प्रविधि र श्रम बजारको मागलाई ध्यानमा राख्दै विश्वविद्यालयले एआई, डाटा साइन्स र साइबर सुरक्षालगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने भएको छ। चिकित्सा शिक्षा र इन्जिनियरिङतर्फ पनि आवश्यकताअनुसार विशिष्टीकृत कार्यक्रम विकास गर्ने नीति लिइएको छ।
विश्वविद्यालयले मोरङको गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गर्ने भएको छ। प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल प्रणालीमा जोडेर सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने योजना पनि अघि सारिएको छ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृशिशु अस्पताल आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवासँग जोडिएका कार्यक्रम अघि बढाउने विश्वविद्यालयको योजना छ।
सभालाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले प्रविधिको तीव्र विकास र विश्वव्यापीकरणअनुसार उच्च शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्ने बताए। विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।
पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न मन्त्री पोखरेलले निर्देशन दिए। शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनसँगै विश्वविद्यालयको शैक्षिक प्रणाली सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले अघि सारेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए। विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यक्रमसमेत बजेटमा समेटेको छ।
त्यसैगरी विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। पछाडि परेका तथा अवसरबाट वञ्चित वर्गका विद्यार्थीका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि सारिएको विश्वविद्यालयले जनाएको छ।
सभाले कार्यकारी परिषद्का लागि तीन वर्षका लागि तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ। डीनतर्फ चिकित्साशास्त्र संकायकी डीन परिचा उपाध्याय ढुंगेल र कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन कृष्णप्रसाद पाण्डे तथा शिक्षकतर्फ पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ।