काठमाडाैँ - जुम्लाको गुठिचौर गाउँपालिकामा हिउँदे बिदालाई मध्येनजर गर्दै विद्यार्थीलाई नि:शुल्क ट्युसनसँगै कम्प्युटर शिक्षा दिन थालिएको छ। आगामी चैत महिनामा एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर शिक्षा दिन सुरु गरिएको हो।
अहिले नै कम्प्युटर शिक्षा दिँदा माथिल्ला कक्षमा सहज हुने भएकाले अनिवार्य रुपमा कम्प्युटर सिकाउन थालिएको वडाध्यक्ष अर्जुनकुमार महाताराले जानकारी दिए। उनले भने, ‘अहिले गाउँकै विद्यालयमा ट्युसन पढाउने र सँगै कम्प्युटर कक्ष चलाउने व्यवस्था मिलाइएको छ।’गुठिचौर-१ खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसन कक्षसँगै नि:शुल्क कम्प्युटर पढाउने व्यवस्था गरिएको छ।
हिउँदका तीन महिना जुम्लामा स्कुलहरु बिदा हुने गर्छन्। त्यो बेला विद्यार्थीहरु फुर्सदिलो हुने र पढाइमा ध्यान नदिने भएकाले यसपटकदेखि नियमित रुपमा पठनपाठन हुने गरेर ट्युसनको व्यवस्थापन गरिएको हो। गाउँमा ट्युसनसँगै कम्प्युटर कक्ष लिने भए पनि विद्यार्थीहरु दंग छन्।
'गतवर्षसम्म सामल बोकेर खलंगामा ट्युसन पढ्न आउने विद्यार्थीहरु गाउँमै रोकिएका छन्। अभिभावकलाई आर्थिक भार पनि कम भयो। विद्यार्थीलाई खलंगामा ट्युसन पढ्नुपर्ने बाध्यता पनि हट्यो,' विद्यार्थी मुनप्रसाद बोहराले भने,‘यो पटक वडा सरकारले राम्रो व्यवस्था गर्यो।’
'आगामी चैतमा यो क्षेत्रबाट ४२ जना विद्यार्थीले एसईई दिँदैछन्। राष्ट्र निर्माणको पहिलो आधार शिक्षा नै हो। शिक्षालाई प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व हो,' वडाध्यक्ष महाताराले भने, ‘अब दक्ष र बिकाउ जनशक्ति उत्पादनमा सबैको ध्यान जानुपर्ने देखिन्छ।’
पहिले खलंगामा आउँदा प्रतिविद्यार्थी मासिक १५ देखि २० हजार रुपैयाँसम्म खर्च हुने गरेको थियो। ५ देखि ७ हजार रुपैयाँसम्म ट्युसन शुल्क तिर्नुपर्ने अवस्था थियो। नुन, चामल, ग्यास, कोठा भाडालगायतमा न्यूनतम १० हजार रुपैयाँ खर्च हुने गरेको थियो,' अर्की विद्यार्थी अस्मिता थकालीले भनिन्,‘रुपैयाँ नभएर बाध्यताले गाउँमा थन्किनु परेका विद्यार्थीलाई राहत मिलेको छ।’ उनले स्थानीय सरकारको यो कदमको खुलेर प्रशंसा गरिन्। वडा कार्यालयले वडाभित्रका विद्यालयबाट दक्ष शिक्षक छनौट गरेको छ।
'पटकपटक वडाध्यक्षलगायतको टोलीले अनुगमन गर्नेदेखि शिक्षक र विद्यार्थी बीचमा छलफल चलाउने भएकाले पनि पढाइ गुणस्तरको छ,' वडाध्यक्ष महाताराले भने, ‘अब दुर्गमबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यार्थीहरु उत्पादन भइरहेका छन्।’