काठमाडाैँ- गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले जितेको छ। यस गाउँपालिकाको वडा ४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा भएको प्रतियोगितामा २५ स्वर्ण, नौ रजत र छ काँस्यसहित ४० पदक हात पार्दै ज्ञानोदय माध्यमिक विद्यालय मजुवाले उपाधि जितेको हो।
लगातार तेस्रो पटक उपाधि जितेको ज्ञानोदय माध्यमिक विद्यालयले उपाधिसँगै रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ, भने रनिङ शिल्ड कब्जा समेत गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमख नयन सिंह ठकुरीले जानकारी दिए। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दोस्रो भएको उदय माध्यमिक विद्यालय शान्तिपुरले नौ स्वर्ण, १६ रजत र चार काँस्यसहित २९ पदक प्राप्त गरी उपविजेता बनेको छ। नौ स्वर्ण, पाँच रजत र तीन काँस्यसहित १७ पदक प्राप्त गरी शारदा माध्यमिक विद्यालय सराङ्ग तेस्रो भएको हो। सात स्वर्ण, तीन रजत र चार काँस्यसहित कुल १४ पदक प्राप्त गरी शारदा माध्यमिक विद्यालय रुपाकोट सान्त्वना भएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० ९पाँचौ संशोधन० अनुसार भएको थियो। भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, कराते, तेक्वान्दो लगायतका खेल समावेश गरिएको प्रतियोगितामा गाउँपालिकाभित्रका १० विद्यालयका विद्यालयका करिब ५०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए।