सल्यान- गर्मी सुरु भएसँगै मुहान सुक्दा सल्यानको बनगाड कुपिण्डे नगरपालिका-५ शंखपिपल, च्युरास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा खानेपानीको चरम सङ्कट भएको छ। विद्यालयको पुरानो स्थायी खानेपानी मुहान सुकेपछि विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थी, शिक्षक तथा कर्मचारी दैनिक पानीको अभाव झेल्न बाध्य भएका छन्।
विद्यालय स्रोतका अनुसार हाल गाउँमा सञ्चालन भइरहेको सोलार लिफ्ट प्रणालीको खानेपानी योजनाबाट दिनभरका लागि जम्मा दुई सयदेखि पाँच सय लिटर मात्रै पानी उपलब्ध हुने गरेको छ। उक्त पानीले विद्यार्थीलाई पिउनका लागि समेत पर्याप्त नहुने विद्यालयका निमित्त प्रधानाध्यापक प्रशान्त सुनारले जानकारी दिए।
'पहिले खैरागार भन्ने स्थानको तल रहेको मुहानबाट विद्यालयमा पानी आउने गर्थ्यो, तर अहिले उक्त मुहान सुकिसकेको छ। गर्मी बढ्दै जाँदा पानीको समस्या झनै जटिल बन्दै गएको छ,' उनले भने। खानेपानी अभावका कारण विद्यालयको सरसफाइ तथा शौचालय प्रयोगसमेत प्रभावित भएको छ। पानीको अभावले शौचालय प्रयोग गर्न समस्या भएको र विद्यालयको सरसफाइ कायम राख्न समेत कठिनाइ भइरहेको निमित्त प्रधानाध्यापक सुनारले बताए।
उनका अनुसार विद्यालयमा हाल ९०१ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालय सञ्चालन भइरहेकै समयमा समेत विद्यार्थीहरूले पिउने पानी नपाउने अवस्था रहेको शिक्षकहरूले बताएका छन्। खानेपानी समस्या समाधानका लागि बनगाड खोला नजिक कुवा खनेर लिफ्ट प्रणालीमार्फत पानी ल्याउनुको विकल्प नरहेको विद्यालयले जनाएको छ। 'नजिकमा कतै पनि पानीका मुहान छैनन्। बनगाड खोला नजिकै प्राविधिक धार सञ्चालनका लागि विद्यालयले लिजमा लिएको जग्गामा कुवा खनेर त्यहाँबाट लिफ्ट प्रणालीमार्फत पानी ल्याउन सकिने सम्भावना देखिएको छ,' निमित्त प्रअ सुनारले भने।
समस्या समाधानका लागि नगरपालिका तथा प्रदेश सरकारसमक्ष माग पेश गरिएको विद्यालयले जनाएको छ। यसैबीच अभिभावक तथा स्थानीय सरोकारवालाहरूले पनि विद्यालयमा देखिएको खानेपानी समस्याको तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।