काठमाडौं - अबको केही दिनमै देशले बालेन साह लाई प्रधानमन्त्रीको रूपमा पाउने चर्चा चुलिएको छ। प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र साहबीच भएको सहमतिअनुसार उनी सरकारको नेतृत्व गर्ने तयारीमा रहेका बताइएको छ। फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गरेको दाबी गरिएको छ। स्पष्ट बहुमत प्राप्त गरेसँगै अब आगामी पाँच वर्ष देशको नेतृत्व रास्वपाले एक्लै गर्ने अवस्था बनेको छ।
साह झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। बालेन साह ले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओली ले १८ हजार ७३४ मत मात्र पाए। दुवैबीचको मतान्तर ४९ हजार ६१४ रहेको छ।
निर्वाचन जितेसँगै अब साहमाथि आफ्ना चुनावी वाचा पूरा गर्ने जिम्मेवारी थपिएको छ। उनले फागुन ११ गते सार्वजनिक गरेको ‘झापा–५ वाचापत्र’मा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। वाचापत्रमा गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउने अधिकार व्यवहारमै सुनिश्चित गरिने उल्लेख छ। त्यस्तै, काठमाडौं महानगरपालिकामा लागू गरिएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई देशभर विस्तार गर्ने योजना पनि अघि सारिएको छ, जसले विद्यार्थीहरूलाई विदेश जानुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ।
महानगरको अनुभवअनुसार सामुदायिक विद्यालयहरूमा हरेक शुक्रबार ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन हुँदै आएको छ, जसअन्तर्गत विद्यार्थीहरूले विभिन्न सीप सिक्ने अवसर पाइरहेका छन्।
यस कार्यक्रम अन्तर्गत कृषि तथा शहरी खेती, सौन्दर्य कला, कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन, इलेक्ट्रिकल तथा वायरिङ, मोबाइल मर्मत, प्लम्बिङ र परम्परागत निर्माण कला लगायतका १० वटा विधामा तालिम दिइँदै आएको छ।
त्यसैगरी, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। वाचापत्रमा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्ने, दमक बहुप्राविधिक शिक्षालयको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाइएको छ।
सामुदायिक विद्यालयहरूमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने, उच्च शिक्षाको स्तरोन्नति गर्ने तथा ‘स्कुल रिटेन्सन कार्यक्रम’ मार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने लक्ष्य राखिएको छ।
यसका साथै फरक क्षमता भएका बालबालिकाका लागि विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पाठ्यक्रममा स्थानीय भाषा र लिपि समावेश गर्ने तथा दमकस्थित साइन्स पार्कलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याउने योजना पनि समेटिएको छ।