काठमाडौँ - काठमाडौँको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा ‘ज्ञानश्री स्कूल’ सञ्चालनमा आएको छ। केएमसी बागबजार र युरो स्कूल छाउनीको संयुक्त लगानीमा स्थापना गरिएको विद्यालयले शैक्षिक उत्कृष्टता र बालकेन्द्रित, प्रगतिशील शिक्षण पद्धतिमा जोड दिने लक्ष्य राखेको छ।

विद्यालयको औपचारिक उद्घाटन समारोह उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहमा बालबालिकाहरूका लागि अन्तरक्रियात्मक खेल, फेस पेन्टिङ, कला तथा शिल्प गतिविधि र अभिभावकका लागि विद्यालय अवलोकन कार्यक्रमसमेत आयोजना गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अर्यालले ‘ज्ञानश्री’ शैक्षिक उत्कृष्टता र वास्तविक बालकेन्द्रित शिक्षण अनुभवलाई एउटै संस्थामा समेट्ने प्रयास भएको बताए। संस्थापक निर्देशक वाणी राणाले विद्यालयले जिज्ञासा, सिर्जनशीलता र आत्मविश्वास विकासमा जोड दिने उल्लेख गरिन्। प्रधानाध्यापक अनिश ढकालले संयुक्त लगानीबाट दुवै संस्थाका उत्कृष्ट अभ्यास विद्यार्थीले प्राप्त गर्ने विश्वास व्यक्त गरे।

विद्यालयले राष्ट्रिय पाठ्यक्रमसँगै क्याम्ब्रिजसम्बद्ध अन्तर्राष्ट्रिय शिक्षण पद्धति अपनाउने जनाएको छ। अनुसन्धानमा आधारित शिक्षण, परियोजनामूलक अध्ययन, सुक्राती संवाद र सहकार्यात्मक सिकाइलाई प्राथमिकता दिइनेछ। हाल नर्सरीदेखि कक्षा ७ सम्म भर्ना खुला गरिएको छ।

सहपाठ्य गतिविधिअन्तर्गत सामुदायिक सेवा, इनोभेसन हब, मेकर स्पेस, पठन तथा सामाजिक क्लब सञ्चालन गरिनेछन्। साथै, खेलकुद र कला क्षेत्रमा बास्केटबल, फुटबल, जिम्न्यास्टिक्स, कला तथा प्रदर्शन कलाजस्ता कार्यक्रम समावेश गरिएको छ।

विद्यालयको भौतिक पूर्वाधार पनि आधुनिक र विद्यार्थीमैत्री बनाइएको छ। प्रविधियुक्त कक्षाकोठा, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, संगीत तथा कला कक्ष तथा सुरक्षित खेल क्षेत्रको व्यवस्था गरिएको छ। साथै, करियर परामर्श तथा विश्वविद्यालय तयारी कार्यक्रममार्फत विद्यार्थीलाई उच्च शिक्षाका लागि मार्गदर्शन प्रदान गरिने विद्यालयले जनाएको छ।
