भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी तीव्र गतिमा भइरहेको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले एसईईको तयारी तीव्र रुपमा भइरहेको बताउँदै चैत्र १४ गतेसम्म सबै जिल्लामा परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तर पुस्तिका र अन्य आवश्यक सामग्री पुर्याई सकिने बताए। बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुने भएका छन्।
गतवर्ष २०८१ को एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ जना सहभागी भएका थिए। कुल परीक्षार्थीमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्। यस वर्षको एसईईमा सहभागी हुने विद्यार्थी गत वर्षको तुलनामा घटेका छन्।
यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ७० हजार ८५५ ग्रेड वृद्धि तर्फ रहेका छन्। त्यस्तै जापानबाट २३ विद्यार्थीले एसईई दिने भएका छन्। यस वर्षको एसईई परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक अधिकारीले बताए।
परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटिने बोर्डले जनाएको छ। परीक्षालाई मर्यादित बनाउन चारै वटा सुरक्षा निकाय सम्मिलित केन्द्रीय सुरक्षा समितिसँग र जिल्ला जिल्लामा परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया भइरहेको बोर्डले जनाएको छ।
चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकसाथ बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका कारण एसईई परीक्षा गतबर्षको भन्दा दुई साता पछि सारिएको हो। एसईईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ।