काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदैछ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ।
यस वर्ष पनि जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन्। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदैछन्। यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन्।
परीक्षा तालिका अनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
यसवर्ष बोर्डले एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासोपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो।अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा मात्र अनुगमन गर्ने निर्णय बोर्डले गरेको छ।
यसवर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय बोर्डले गरेको छ। सम्बन्धित केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित भएमा मात्रै शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सक्ने बोर्डले जनाएको छ। परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो।