काठमाडौँ- आजदेखि देशभर दोस्रो आर्थिक गणना सूरु भएको छ। यसका लागि देशभरनै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगि कार्य सुरुगरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन्।गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र,विद्यालय र सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ।
त्यसक्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ । गणनाबाट प्राप्त विवरणको आधारमा आव २०८३/८४ को शुरू देखि नै तथ्याङ्क प्रशोधन, विश्लेषण गरी यसका नतिजाहरू क्रमशः सार्वजनिक गरिनेछ कार्यालयले जनाएको छ।
आर्थिक गणना किन ?
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने मुख्य उद्देश्य लिइएको छ।
यसका अतिरिक्त यस गणनाको आधारमा देशको कुल गार्हस्थ उत्पादन (GDP) का अनुमानहरू सुदृढीकरण गर्ने, राष्ट्रिय लेखाका आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क उत्पादन गर्ने र सरकारले तय गर्ने नीति निर्माण र योजना तर्जुमा गर्न तथा नीति मार्फत लिएका लक्ष्यहरूको मापनमा सहयोग गर्ने उद्देश्य समेत राखिएको छ।
आर्थिक तथ्याङ्कलाई संस्थागत रूपमा मजबुत आधार निर्माणमा यस गणनाले महत्वपूर्ण भूमिका खेल्दछ। त्यसैगरी, राज्यले तय गर्ने अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनामा अति आवश्यक विवरण प्राप्त गर्ने अपेक्षा कार्यालयले लिएको छ। यस गणनालाई देशको आर्थिक तथ्याङ्कको विश्वसनीय पद्दति विकासको आधारस्तम्भको रूपमा लिइएको छ भने अन्तर–निकाय तथ्याङ्कीय समन्वय निर्माणको आधारसमेत तय गर्ने विश्वास लिइएको छ।
गणना गरिने क्षेत्र र विषयहरु
देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनकालागि समग्र आर्थिक क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार २१ भागमा विभाजन गरी ती क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान मापन हुदै आएको छ।
यस राष्ट्रिय आर्थिक गणनामा ती २१ वटा वर्गीकरण मध्ये विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने तथ्याकं कार्यालयले जनाएको छ। देशैभर रहेका दर्ता भएका र नभएका ठूला वा साना व्यापार÷प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगारको लागि सञ्चालनमा रहेका, उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संघ–सस्था, सरकारी संस्थान, सरकारी वा निजि विद्यालय, अस्पतालहरुमा गणना सञ्चालन गरिनेछ।