काठमाडौँ- निजी विद्यालयहरुको संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले आज देखि विद्यालयमा नयाँ भर्ना शुरु गर्ने भएको छ। नेसनल प्याब्सनले सुचना जारी गर्दे विद्यालयमा पठनपाठन भने वैशाख १५ गते देखि सञ्चालन गर्न पनि निर्देशन दिएको छ।
सरकाले हालै गरेको पेट्रोलियम पदार्थको खपत घटाउने तथा वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यले हप्तामा दुई दिन शनिवार र आइतबार सार्वजनिक बिदा दिने तथा शैक्षिक सत्र वैशाख १५ गतेवाट सुरु गर्ने निर्णयप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले बिरोध समेत जनाएको छ।
उक्त निर्णयले शैक्षिक क्षेत्र, विशेषतः विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने देखिएको प्याब्सनले उल्लेख गरेको छ। उसले शनिवार र आइतवार दुई दिन विदा कायम हुँदा वार्षिक थप ४० दिन विदा बढ्ने अवस्था सिर्जना हुने र यसले नेपाल सरकारले निर्धारण गरेको विस्तृत तथा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न गम्भीर चुनौती उत्पन्न गर्ने जनाएको छ ।नेसनल प्याब्सनले यसबाट पठन–पाठन प्रभावित हुने मात्र नभई समग्र शिक्षण सिकाइ प्रकियामा समेत प्रत्यक्ष असर पार्ने उल्लेख गरेको छ। यद्यपि विद्यालयहरूले शैक्षिक क्यालेण्डर मिलाउने प्रयास गर्ने भए पनि गुणस्तरीय शिक्षामा सम्झौता गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उसले चिन्ता समेत व्यक्त गरेको छ।
नेसनल प्याब्सनले दैनिक ज्यालादारीमा आश्रित अभिभावकहरूका लागि दुई दिने बिदा व्यवस्थापन कठिन हुन सक्ने पनि जनएको छ।नेसनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई वार्षिक क्यालेन्डर र योजनामा निम्न व्यवस्थापन गर्न निर्देशन दिइएको छ। जसमा शैक्षिक सत्र २०८३ को लागि विदाहरू जस्तै दशैं तिहार, जाडो गर्मी विदा, शैक्षिक सत्र समापन जस्ता अन्य विदा मिलान गरी पठन पाठनको लागि कम्तिमा २२० दिन कायम गर्ने, विद्यालय समयलाई सकभर विद्यार्थीहरू माथि बोझ नपर्ने गरी व्यवस्थापन गर्ने।
उसले विभिन्न प्रतियोगिताहरू, अभिभावक दिवस जस्ता कार्यक्रमहरु शनिवार वा आइतवार राख्न समेत सदस्य विद्यालयहरुलाई निर्देशन जारी गरेको जनाएको छ।त्यसैगरी विद्यालय सञ्चालन गर्न विद्यार्थीहरूवाट लिने शुल्क शिक्षा ऐन २०७२ को परिच्छेद २५ मा व्यवस्था गरिए अनुसार मासिक शुल्क प्रत्येक महिना, वार्षिक शुल्क वर्षमा एक पटक र भर्ना शुल्क नयाँ भर्ना हुन आउने विद्यार्थीहरूवाट एक पटक मात्र लिने व्यवस्था गर्न समेत निर्देशन जारी गरेको छ।
