काठमाडौँ- तनहुँको देवघाट नगरपालिकाले वैशाख २ गतेदेखि नै भर्ना अभियान सुरु गरेको छ। तनहुँकै व्यास नगरपालिकाले वैशाख ३ गतेदेखि भर्ना अभियान सुरु गरेको छ। नगर शिक्षा समितिको बैठकबाट निर्णय भएको भन्दै भर्ना अभियान सुरु गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए।
नगरपालिकाले मातहतका सरकारी र निजी विद्यालय वैशाख ७ गतेदेखि पढ्न–पाठन गर्ने समेत निर्देशन दिएको जनाएको छ। यस्तै, प्युठानको झिमरुक गाउँपालिकाले पनि सामुदायिक र निजी विद्यालयलाई वैशाख २ गतेदेखि विद्यार्थी भर्ना लिन र कक्षा सञ्चालन वैशाख १५ गतेदेखि गर्न निर्देशन दिएको छ।
स्याङ्जाको चापाकोट नगरपालिकाले पनि वैशाख ४ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ। चापाकोटले वैशाख १४ गतेदेखि नियमित पठन–पाठन सुरु गर्न संस्थागत तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।
उता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि वैशाख ७ गतेदेखि भर्ना अभियान सुरु गरी १० गतेदेखि नियमित पठन–पाठन सुरु गर्ने निर्णय गरेको छ। नगरपालिकाले सूचना प्रकाशन गरी वैशाख १० गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालयमा नियमित पढ्न–पाठन सुरु गर्ने निर्णय गरेको जनाएको छ।
संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा हुने व्यवस्था गरेको।संविधानको यहि व्यवस्थालाई आधार मान्दै विभिन्न पालिकाहरुले पालिकामा रहेका विद्यालयहरुलाई भर्ना अभियान सूरु गर्दे पठनपाठन कार्यअघि बढाउन निर्देशन दिएका हुन्।
पेट्रोलियम पदार्थ अभावको कारण देखाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैशाख १५ गतेदेखि मात्र भर्ना अभियान सञ्चालन गर्ने र २१ गतेदेखि पढ्न–पाठन सुरु गर्ने निर्णय गरेको छ।तर, केन्द्र सरकारको निर्णय बेवास्ता गर्दै स्थानीय तहले धमाधम भर्ना अभियान सुरु गर्न थालेका हुन्।
संघीय सरकारले वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने र २१ गतेदेखि पठन–पाठन थाल्ने निर्णय गरेको थियो। स्थानीय तहले धमाधम भर्ना अभियान सुरु गर्ने निर्णय गरे पनि शिक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।