काठमाडौँ - पछिल्ला वर्षहरूमा विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, सक्षम नेतृत्व तथा पूर्वाधार विकासका कारण सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको देखिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार देशका केही सामुदायिक विद्यालयमा विद्यार्थी चाप उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी शहरी तथा सुगम क्षेत्रमा रहेका केही विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनाएका छन्।
रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय मा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयमा हाल ८ हजार २६९ विद्यार्थी अध्ययनरत छन्। त्यसपछि रुपन्देहीकै प्रगतिनगर माध्यमिक विद्यालय मा ७ हजार ९७० विद्यार्थी अध्ययन गरिरहेका छन्।
त्यस्तै, झापाको जनता माध्यमिक विद्यालय मा ६ हजार ६६६ विद्यार्थी अध्ययनरत छन् भने रुपन्देहीकै कान्ति माध्यमिक विद्यालय मा ६ हजार ३४ विद्यार्थी अध्ययन गरिरहेका छन्।
रुपन्देहीको नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय मा ५ हजार ३८० विद्यार्थी रहेका छन्। काठमाडौँ महानगरपालिकास्थित ज्ञानोदय माध्यमिक विद्यालय मा ४ हजार ७६४ विद्यार्थी अध्ययनरत छन्।
मोरङको सुनसरी माध्यमिक विद्यालय मा ४ हजार ६४७ विद्यार्थी अध्ययनरत छन् भने काठमाडौँकै विश्वनिकेतन माध्यमिक विद्यालय मा ४ हजार २०१ विद्यार्थी अध्ययन गरिरहेका छन्।
चितवनस्थित बालकुमारी माध्यमिक विद्यालय मा ४ हजार ७८ विद्यार्थी अध्ययनरत छन्। कपिलवस्तुको नेपाल आदर्श माध्यमिक विद्यालय मा ४ हजार १७१ विद्यार्थी अध्ययनरत रहेको तथ्यांकमा उल्लेख छ।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार सामुदायिक विद्यालयमा सुधारिएको व्यवस्थापन, अनुभवी शिक्षक, प्रविधिमैत्री शिक्षण, अंग्रेजी माध्यमको विस्तार तथा अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको हो।
कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयभन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकको विश्वास पनि बढ्न थालेको शिक्षा क्षेत्रका विज्ञहरूको भनाइ छ। साथै स्थानीय तहको लगानी, विद्यालय व्यवस्थापन समितिको सक्रियता तथा शिक्षकहरूको प्रतिबद्धताले पनि सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार हुँदै गएको देखिएको छ।