सुनसरी- सामुदायिक विद्यालयप्रति बढ्दो निराशाबीच सुनसरीको रामधुनी नगरपालिका–७ कुमारखतस्थित पञ्चायत माध्यमिक विद्यालयले प्रभावकारी नेतृत्व, दूरदर्शी व्यवस्थापन र सामूहिक प्रयासका माध्यमबाट उदाहरणीय काम गर्दै आएको छ। ग्रामीण क्षेत्रमा अवस्थित भए पनि विद्यालयले आधुनिक शैक्षिक पूर्वाधार विकास गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गरेको छ। विद्यालयमा व्यवस्थित पुस्तकालय, कम्प्युटर ल्याब तथा स्काउट कार्यक्रम सञ्चालनमा छन्, जसले विद्यार्थीको शैक्षिक, सामाजिक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

विद्यालयका प्रधानाध्यापक शङ्कर लुईटेलका अनुसार विद्यालयमा हाल बालविकासदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन भइरहेको छ। सीमित स्रोत–साधनका बाबजुद विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यबाट विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने अभियान निरन्तर अघि बढाइएको उनले बताए।
‘नेतृत्वले चाहेमा गर्न नसकिने केही हुँदैन। ग्रामीण क्षेत्रको विद्यालय भए पनि विद्यार्थीलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, प्रधानाध्यापक लुईटेलले भने, ‘त्यही लक्ष्यअनुसार पुस्तकालय, कम्प्युटर ल्याब र विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेका छौँ।’
विद्यालयमा सञ्चालित स्काउट कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सेवाभावको विकास गर्न सहयोग पु¥याइरहेको विद्यालय प्रशासनको भनाइ छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र सामुदायिक सेवाप्रति पनि अभिप्रेरित गरिएको छ।
स्थानीय अभिभावकहरूका अनुसार पछिल्ला वर्षहरूमा विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ। आधुनिक प्रविधिमैत्री सिकाइ वातावरण, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कृतिका कारण विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको उनीहरू बताउँछन्।
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि उचित योजना, प्रतिबद्ध नेतृत्व र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको सन्देश पञ्चायत माध्यमिक विद्यालयले दिएको छ। सीमित स्रोत–साधनका बीच पनि विद्यालयले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव रहेको प्रमाणित गर्दै अन्य सामुदायिक विद्यालयका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

