काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै देशभरका विद्यालयलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
केन्द्रको योजना तथा अनुगमन शाखाले जारी गरेको परिपत्रमा मनसुनजन्य विपद्ब वाट प्रभावित हुन सक्ने विद्यालय र विद्यार्थीहरूको सिकाइ तथा सुरक्षालाई ध्यानमा राख्दै विद्यालयस्तरमा विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन तथा पूर्वतयारीका कार्यहरू तत्काल अघि बढाउन आग्रह गरिएको छ।
केन्द्रका अनुसार विद्यालयहरूले विद्यालय विपद् व्यवस्थापन योजना निर्माण तथा अद्यावधिक गर्नुपर्ने, सम्भावित जोखिमहरूको मूल्याङ्कन गरी न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने र विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिलाई विपद् तयारी तथा सुरक्षासम्बन्धी अभिमुखीकरण गर्नुपर्नेछ।
त्यसैगरी बाढी, पहिरो, सडक सुरक्षा, नदी तथा खोला जोखिम, विद्युतीय जोखिमलगायत विषयमा विद्यार्थीहरूलाई नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि विद्यालयलाई निर्देशन दिइएको छ।
परिपत्रमा विद्यालय परिसरभित्र सुरक्षित निकास मार्ग, आपत्कालीन सम्पर्क विवरण तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। विपद्को समयमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न अभिभावक तथा समुदायसँग आवश्यक समन्वय गर्न पनि विद्यालयलाई आग्रह गरिएको छ।
यस्तै विद्यालय विपद् व्यवस्थापन तथा सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा स्थानीय तह, वडा कार्यालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक सहयोग लिनुपर्ने व्यवस्था गरिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूले तयार गरेको विपद् व्यवस्थापन योजना र पूर्वतयारीका गतिविधिबारे स्थानीय तहलाई जानकारी गराई आवश्यक सहयोग तथा समन्वय गर्न अनुरोध समेत गरेको छ।
मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्ब वाट विद्यार्थी तथा विद्यालयको सुरक्षा सुनिश्चित गर्न केन्द्रले समयमै तयारी गर्न सबै विद्यालयलाई आग्रह गरेको हो।
