काठमाडौँ- विद्यालय तहका बालबालिकालाई विद्यालयमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम हाल देशभरका १ हजार ५४६ सामुदायिक विद्यालयमा विस्तार गरिएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको सम्बन्धित महाशाखाकी निर्देशक हीरादेवी निरौलाका अनुसार विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, पोषण अवस्था निगरानी तथा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विद्यालयमा नर्सको व्यवस्था गरिएको हो।
उनका अनुसार कार्यक्रमअन्तर्गत हाल ३२७ विद्यालयमा सङ्घीय सरकारबाट तथा बाँकी विद्यालयमा प्रदेश र स्थानीय तहको समन्वयमा नर्स परिचालन गरिएको छ। ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ अन्तर्गत सञ्चालित यस अभियानले विद्यालयस्तरमै स्वास्थ्य सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
निर्देशक निरौलाले विद्यालयमा कार्यरत नर्सहरूले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्था मूल्याङ्कन, रक्तअल्पता (एनेमिया) परीक्षण तथा आवश्यक परामर्श दिने कार्य गरिरहेको बताए। स्वास्थ्य समस्या देखिएका विद्यार्थीलाई आवश्यक सुझाव दिने र स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्ने जिम्मेवारी पनि नर्सहरूले निर्वाह गरिरहेका छन्।
त्यस्तै, विद्यार्थी नियमित विद्यालय नआएको अवस्थामा कारणबारे अभिभावकसँग समन्वय गर्ने तथा विद्यालय र परिवारबीच स्वास्थ्यसम्बन्धी संवाद बढाउने कामसमेत कार्यक्रममार्फत भइरहेको छ। सरकारले आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशबाट पाइलट परियोजनाका रूपमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको थियो। कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई क्रमशः अन्य प्रदेशमा विस्तार गरिएको हो।
तर आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन नभएका कारण हाललाई थप विद्यालयमा कार्यक्रम विस्तार गर्न चुनौती रहेको निर्देशक निरौलाले बताए। कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा एक छात्र र एक छात्रालाई ‘स्वास्थ्य राजदूत’ का रूपमा चयन गरी स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियानसमेत सञ्चालन गरिएको छ।
विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराउने यो कार्यक्रमले विद्यार्थीको स्वास्थ्य अवस्था सुधार गर्न, समयमै उपचार तथा परामर्श उपलब्ध गराउन र स्वास्थ्य सचेतना बढाउन सकारात्मक योगदान पुर्याएको सरोकारवालाहरूको भनाइ छ।