काठमाडौँ- देशका तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) का कारण अधिकांश पालिकाहरुले विद्यालय बन्द गरेका छन्।विशेष गरि तराईका जिल्लाहरुमा विगत केहि दिन देखि गर्मी अत्याधिक बढेपछि पालिकाहरुले सुचना जारी गरि अन्र्तगतका विद्यालयहरुमा केहि दिन विदा दिएका हुन।
नेपालगञ्ज, विरगञ्ज लगायत अन्य तराईका विद्यालयहरुमा विदा दिईएको छ। जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्नेछ।
विभागको मौसम पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। काठमाडौँ उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसेल्सियस रहने पूर्वानुमान गरिएको छ।
विभागले अत्यधिक गर्मीको समयमा बासिन्दालाई दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ । त्यसबाट स्वास्थ्य, शिक्षा , कृषि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव देखिएको छ ।