काठमाडौँ - शिक्षा तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष थापालाई शपथ गराएका हुन्। त्यस्तै, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा त्रिवि सेवा आयोगका नवनियुक्त सदस्य प्रा.डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसअघि प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। शपथ ग्रहणपछि अध्यक्ष थापाले आयोगको जिम्मेवारी निष्पक्ष, पारदर्शी र इमानदार ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
उनले त्रिभुवन विश्वविद्यालयको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै २१औँ शताब्दीका नयाँ चुनौतीसँग सामना गर्न सक्ने सक्षम, प्रतिस्पर्धी र प्रभावकारी विश्वविद्यालय निर्माणमा आफ्नो कार्यकाल केन्द्रित रहने उल्लेख गरे।
मन्त्रालयका अनुसार सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी तथा योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यले अध्यक्ष र सदस्य नियुक्ति गरिएको हो। अध्यक्ष सिफारिस समितिले सार्वजनिक आवेदन आह्वानपछि प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्ययोजनाको मूल्याङ्कन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न उच्च जिम्मेवारी सम्हालेका छन्। उनले सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्य गर्दै राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्वपूर्ण नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।