काठमाडौँ - एडुकेसन इन्टरनेसनल (ईआई) एसिया–प्रशान्त क्षेत्रीय कार्यालयले नेपाल विद्यालय कर्मचारी परिषद् (एनएसईसी) तथा देशभरका विद्यालय सहयोगी कर्मचारीहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
ईआई एसिया–प्रशान्तका क्षेत्रीय निर्देशक आनन्द सिंहले परिषद्का अध्यक्ष गंगाराम तिवारीलाई पठाएको पत्रमार्फत विद्यालय सहयोगी कर्मचारीले उचित पारिश्रमिक, मर्यादित कार्य वातावरण, पेसागत मान्यता, सामाजिक सुरक्षा तथा श्रम अधिकार सुनिश्चित गर्न उठाएका मागहरू जायज रहेको उल्लेख गर्दै आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गरेका हुन्।
पत्रमा गुणस्तरीय सार्वजनिक शिक्षाको आधार विद्यालय सहयोगी कर्मचारीहरूको समर्पण, मेहनत र योगदान रहेको उल्लेख गरिएको छ। विद्यालय सञ्चालनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण भएकाले उनीहरूको श्रमको सम्मान, उचित मूल्याङ्कन र न्यायोचित प्रतिफल सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ।
एडुकेसन इन्टरनेसनलको सदस्य संस्थाका रूपमा नेपाल विद्यालय कर्मचारी परिषद् विश्वभरका ३ करोड ३० लाखभन्दा बढी शिक्षक तथा विद्यालय सहयोगी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको हिस्सा रहेको पनि पत्रमा उल्लेख गरिएको छ। उक्त आन्दोलनले मर्यादित रोजगारी, सामाजिक न्याय, समानता र सबैका लागि गुणस्तरीय सार्वजनिक शिक्षाको पक्षमा निरन्तर काम गर्दै आएको जनाइएको छ।
क्षेत्रीय निर्देशक सिंहले परिषद्ले उठाउँदै आएका पारिश्रमिक, सेवासुविधा, सामाजिक सुरक्षा र पेसागत मान्यतासम्बन्धी मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले लामो समयदेखि समाधान हुन नसकेका समस्याको निकास इमानदार, सद्भावपूर्ण र रचनात्मक सामाजिक संवादमार्फत खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्।