काठमाडौँ- सरकारले विद्यालयमा विद्यार्थीमाथि हुने अपमानजनक तथा दण्डात्मक व्यवहार नियन्त्रण गर्न शिक्षा नियमावली (दशौं संशोधन) मार्फत नयाँ व्यवस्था लागू गरेको छ। अब कुनै पनि विद्यालयले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न वा कटाउन पाउने छैन।
बिहीबार सरकारले स्वीकृत गरेको संशोधित शिक्षा नियमावलीमा विद्यार्थीको शारीरिक, मानसिक तथा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
नियमावलीको नियम २५ अनुसार विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, कपाल, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्य निषेध गरिएको छ। पछिल्लो समय केही विद्यालयले अनुशासनका नाममा विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने वा कटाउन बाध्य बनाउने गरेको गुनासो आएपछि सरकारले यस्तो व्यवस्था गरेको हो।
यसैगरी, लामो समयसम्म घाममा वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने, आत्मसम्मान र मर्यादामा आँच पुग्ने तथा शारीरिक, मानसिक वा मनोसामाजिक स्वास्थ्यमा नकारात्मक असर पर्ने कुनै पनि व्यवहार गर्न पनि रोक लगाइएको छ।
संशोधित नियमावलीले आर्थिक अवस्थाका आधारमा पनि विद्यार्थीमाथि विभेद गर्न नपाइने व्यवस्था गरेको छ। शुल्क नतिरेको भन्दै विद्यार्थीलाई अपमानित गर्ने, सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने वा कक्षा तथा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने कार्यसमेत अब नियमविपरीत हुने भएको छ।
सरकारले नयाँ व्यवस्था मार्फत विद्यालयलाई विद्यार्थीमैत्री, सुरक्षित र सम्मानजनक सिकाइ वातावरण निर्माण गर्न थप जिम्मेवार बनाउने उद्देश्य लिएको जनाएको छ।