काठमाडौँ - विद्यालय भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले रौतहटका चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबर जरिवाना र कैद सजायको माग गरिएको छ।
अनुसन्धानका क्रममा राजपुर नगरपालिकाको २०७५ चैत ३ गतेको निर्णयअनुसार विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमका लागि बहुवर्षीय गुरुयोजना स्वीकृत गरी प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरिएको पाइएको छ। सोही क्रममा परामर्शदाता डिबी मल्टी इन्जिनियरिङ कन्सल्टेन्टले तयार गरेको प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ ६२ पैसा रहेकामा पछि संशोधित लागत अनुमान १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ ४० पैसा कायम गरी निर्माण कार्य अघि बढाइएको थियो।
अख्तियारका अनुसार २०७७ फागुन १६ गते भौतिक संरचना निर्माण समितिको बैठकबाट रकम निकासा गर्ने निर्णय गरिएको थियो। आयोगले स्थलगत नापजाँच गर्दा वास्तविकभन्दा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबर बढी निर्माण कार्य भएको देखाई नगरेको कामसमेतको झुट्टा बिल तथा भरपाई तयार गरी बढी मूल्याङ्कन गरेर भुक्तानी लिएको पुष्टि भएको जनाएको छ।
आयोगले झुट्टा बिल र बढी मूल्याङ्कनमार्फत नेपाल सरकार तथा विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्याउने उद्देश्यले भुक्तानी लिने–दिने कार्य भएको निष्कर्षसहित चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।