काठमाडौँ - काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) र आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालय, विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगदसहित सम्मान गरेको छ। साथै उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालयलाई पनि सम्मानपत्र प्रदान गरिएको छ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनलगायतले सम्मान तथा पुरस्कार वितरण गरेका हुन।
एसईई २०८२ मा सामुदायिक विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। यसमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, विश्वनिकेतन माध्यमिक विद्यालयका ३ जना, रत्नराज्य माध्यमिक विद्यालय र तरुण माध्यमिक विद्यालयका २–२ जना तथा शिवपुरी माध्यमिक विद्यालयका १ जना विद्यार्थी रहेका छन्।
सम्मानपछि ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी सुदर्शन थापाले महानगरपालिकाको सहयोगमा विद्यालयले सञ्चालन गरेका कार्यक्रमकै कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए।
तरुण माध्यमिक विद्यालयकी विद्यार्थी सदीक्षा पौडेलले सीपमूलक तथा नवप्रवर्तनात्मक शैक्षिक कार्यक्रमले अध्ययनप्रति थप प्रेरणा मिलेकाले राम्रो नतिजा आएको अनुभव सुनाए।यसैगरी, एसईईमा शतप्रतिशत विद्यार्थीलाई ग्रेडेड गराउने बाल सेवा माध्यमिक विद्यालय (झोँछेँ), बाल व्यावसायी केन्द्र माध्यमिक विद्यालय (सिफल), श्रम राष्ट्रिय माध्यमिक विद्यालय (कुमारीगाल) र केन्द्रीय बहिरा माध्यमिक विद्यालय (नक्साल) लाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ।
एसईईमा उत्कृष्ट नतिजा दिलाउने विषयगत शिक्षक सम्मानअन्तर्गत अनिवार्य र ऐच्छिक विषयका गरी ९ जना शिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ। सम्मानित शिक्षकहरूमा अंग्रेजी विषयका सुस्मा ढकाल, नेपालीका विष्णु घिमिरे रिमाल, गणितका डिल्लीराम पौडेल, विज्ञानका बालेश्वर शाह, ऐच्छिक गणितका दीपक थापा मगर, अर्थशास्त्रकी भावना भट्टराई, कार्यालय सञ्चालन तथा लेखाका डिना सिखाकार र कम्प्युटर विज्ञानका सुशिल तामाङलगायत रहेका छन्।
एसईईमा सबैभन्दा उच्च औसत स्तरीकृत अंक प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फ ज्ञानोदय माध्यमिक विद्यालय (३.२९), तरुण माध्यमिक विद्यालय (३.२९) र विश्वनिकेतन माध्यमिक विद्यालय (३.२३) क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए। उनीहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। महानगरले शिक्षा नियमावलीअनुसार ५० भन्दा बढी विद्यार्थीलाई एसईईमा सहभागी गराई कम्तीमा ८५ प्रतिशत विद्यार्थीलाई ग्रेडेड गराउने सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था अनुसार पुरस्कार प्रदान गरेको जनाएको छ।
संस्थागत विद्यालयतर्फ विजकिड एकेडेमी (३.९०), बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय (३.७८) र मेरिडियन इन्टरनेशनल स्कुल (३.७६) उत्कृष्ट घोषित भई सम्मानित भएका छन्।
सम्मान ग्रहणपछि बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका प्रधानाध्यापक कान्ति थापा कार्कीले महानगरपालिकाबाट प्राप्त सम्मानले विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक कार्य गर्न प्रेरणा मिलेको बताइन्।
ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु रिमालले विद्यालयको उपलब्धिसँग महानगरपालिकाको प्रतिष्ठा पनि जोडिएको उल्लेख गरिन्।कार्यक्रममा आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पनि सम्मान गरिएको छ। संस्थागत विद्यालयतर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय (३.७५), काञ्जीरोवा नेशनल स्कुल (३.६६) र निसर्ग बाटिका स्कुल (३.६२) सम्मानित भए।
सामुदायिक विद्यालयतर्फ विश्वनिकेतन माध्यमिक विद्यालय (३.४२), पद्मोदय माध्यमिक विद्यालय (३.३६) र भानु माध्यमिक विद्यालय (३.३४) क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित पुरस्कृत भएका छन्।
कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा दिलाउने सामुदायिक विद्यालयका विषयगत शिक्षकलाई पनि जनही २० हजार रुपैयाँ प्रदान गरिएको छ। सम्मानित शिक्षकहरूमा नेपाली विषयकी यशोदा न्यौपाने, अंग्रेजीका पाण्डवराज अर्याल, गणितका शिव खतिवडा, विज्ञानका दीपक विक, सामाजिक विषयका देवेन्द्रकाजी तिवारी, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयका राजन ढकाल तथा नेपाल भाषाकी सुलोचना महर्जन रहेका छन्।







