काठमाडौँ - विद्यार्थीहरूले महँगा प्रविधि, नयाँ भवन वा कठिन पाठ्यक्रमभन्दा पनि आफूलाई बुझ्ने शिक्षक, सहभागीमूलक कक्षा र सम्मानपूर्ण व्यवहारलाई प्राथमिकता दिने गरेका छन्। हालै मैले कक्षा ६ र ७ मा अध्ययनरत केही विद्यार्थीसँग गरिएको अनौपचारिक संवादले विद्यालय शिक्षामा सम्बन्ध, सम्मान र रमाइलो सिकाइको आवश्यकता अझ स्पष्ट रूपमा उजागर गरेको छ।
विद्यार्थीसँग गरिएको छलफलमा उनीहरूलाई कक्षामा कसरी पढाइ हुँदा रमाइलो लाग्छ? शिक्षकका कुन व्यवहार मन पर्छ?, कुन कुरा मन पर्दैन? यदि तिमीहरू नै शिक्षक भयौ भने कक्षा कसरी चलाउँथ्यौ? जस्ता प्रश्नहरु राखेको थिँए। उनीहरूका प्रतिक्रियाले अहिलेको शिक्षण प्रणालीमा विद्यार्थी-केन्द्रित दृष्टिकोणको आवश्यकता रहेको देखाएको छ। विद्यार्थीहरूले शिक्षकले पहिले आफूहरूसँग विश्वास र आत्मीय सम्बन्ध बनाउनुपर्ने, ठूलो आवाज र डरको वातावरणभन्दा धैर्य, सम्मान र सहयोगी व्यवहार अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूले हरेक पाठको वास्तविक जीवनसँग सम्बन्ध देखाएर पढाउँदा सिकाइ अझ प्रभावकारी हुने बताएका छन्।
उनीहरूको सुझावअनुसार कक्षामा प्रत्येक १५-२० मिनेटमा खेल, कथा, छलफल, अभिनय वा अन्य सिर्जनात्मक गतिविधि समावेश गरिनुपर्छ। गृहकार्य पनि केवल धेरै दिनेभन्दा रमाइलो र सिर्जनात्मक बनाइनुपर्ने उनीहरूको अपेक्षा छ। शिक्षकले विद्यार्थीले नबुझेको अवस्थामा केवल विद्यार्थीलाई दोष दिनुभन्दा आफ्नै शिक्षण शैलीको समीक्षा गर्नुपर्ने धारणा पनि विद्यार्थीहरूले राखेका छन्।
विद्यार्थीहरूले शिक्षकले कहिलेकाहीँ आफूहरूसँग खेल्ने, खाजा खाने, अनौपचारिक रूपमा कुराकानी गर्ने र साथीसरह व्यवहार गर्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्तो सम्बन्धले विद्यालयप्रतिको आकर्षण र सिकाइप्रतिको उत्साह बढाउँछ।
डिजिटल पुस्ताका विद्यार्थी भएकाले भिडियो, चित्र, एनिमेसन, गीत, नाटक तथा अन्य डिजिटल सामग्री प्रयोग गरी पढाउँदा कक्षा अझ रोचक बन्ने उनीहरूको भनाइ छ। गल्तीलाई सजायको कारण होइन, सिकाइको अवसरका रूपमा लिनुपर्ने र प्रश्न सोध्न तथा आफ्ना विचार राख्न स्वतन्त्र वातावरण हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।विद्यार्थीको उमेर, रुचि, सिकाइ शैली र मनोवैज्ञानिक आवश्यकतालाई केन्द्रमा राखेर शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्नुपर्ने देखिन्छ।
अन्त्यमा, एउटा कुरा सम्झनु आवश्यक छ राम्रो विद्यालय भवनले होइन, राम्रो सम्बन्धले बन्छ। राम्रो पाठ्यपुस्तकले होइन, राम्रो शिक्षकले सिकाइ जीवन्त बनाउँछ। राम्रो शिक्षक त्यो होइन जसले धेरै बोल्छ, राम्रो शिक्षक त्यो हो जसले विद्यार्थीलाई सिक्न, सोच्न र मुस्कुराउन प्रेरित गर्छ। विद्यार्थीले जीवनभर सम्झने शिक्षक प्रायः धेरै ज्ञान दिने होइन, धेरै विश्वास दिने शिक्षक हुन्छन्।
(लेखक शिक्षा क्षेत्रमा कार्यरत छन्।)