काठमाडाैँ- कक्षा १२ को नतिजा प्रकाशन भएसँगै यतिबेला स्नातक तहको विश्वविद्यालय शिक्षाका लागि विभिन्न संकायका विविध कार्यक्रमहरुमा भर्ना खुलेको छ । विश्वविद्यालय तहको पढाईले भविष्यको मार्ग निर्देशन गर्ने हुँदा उचित विषयको छनोट गर्नुपर्दछ। व्यवस्थापन शिक्षा विद्यार्थीहरुका लागि एउटा उत्कृष्ट छनोटको विकल्प हो। व्यवस्थापन शिक्षा वास्तवमा बहु-विषयगत प्रकृतिको हुन्छ। व्यवस्थापकीय सीप जीवनका हरेक मोडमा उत्तिकै आवश्यक हुन्छ। त्यसैले व्यवस्थापन शिक्षा प्रतिको आर्कषण विश्वव्यापी रुपमा बढ्दो छ।
विश्वविद्यालय तहमा भर्ना हुने कुल विद्यार्थी संख्यामा व्यवस्थापन संकाय रोज्ने विद्यार्थीको संख्या करिब आधाजसो देखिन्छ। नेपालमा अहिले धेरै जसो विश्वविद्यालयहरुले व्यवस्थापन विषयका विभिन्न नामका कार्यक्रम संचालन गर्दै आएका छन। नेपालमा व्यवस्थापन शिक्षा र अवसरका सम्वन्धमा त्रिभुवन विश्वविद्यालय अन्तरगतको शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख डा. कपिल खनालसँग गरिएको कुराकानीः
नेपालमा व्यवस्थापन संकाय अध्ययनका लागि विद्यार्थीहरुमा आकर्षण देखिन्छ, यसको कारण के होला?
व्यवस्थापन आफैमा वहुआयमीक विषय हो। घर देखि राष्ट्र र विश्व व्यवस्था संचालन सम्म आवश्यक पर्ने व्यवस्थापन शिक्षा नेपालमा मात्र होईन विश्वभरीनै आवश्य र लोकप्रिय विषयका रुपमा रहेको छ। व्यवस्थापन शिक्षा अध्ययनको अभ्यास हुन थालेको छोटो समय भएपनि यसको व्यहारिक अभ्यास भने विगत सयौं वर्ष देखि नै हुदै आएको हो। नेपालमा त्रिचन्द्र कलेजको स्थापना भए पश्चात वाणिज्य शास्त्रका रुपमा सूरु हुदै आजको व्यवस्थापन विषयले वृहतरुप लिएको छ।
विगतमा व्यवस्थापन अध्ययनको प्रमुख उद्देश्य भनेको अन्य विषय जस्तै जागिर खाने भन्ने रहेको देखिनथ्यो।
तर आज जागिरसँगै आफनै व्यवसाय संचालन गर्ने उद्देश्य पनि बोकेको छ।‘जव सिकर र जव क्रियटर’मुख्यरुपमा अहिलेको व्यवस्थापन अध्ययनको दुई उद्देश्य रहेको छ। व्यवस्थापन शिक्षाका यहि उद्देश्यका कारण पनि यस प्रतिको आकर्षण र आवश्यकता बढ्दै गएको छ। विद्यार्थी अध्ययन पछि आफै रोजगारी सृजना गर्ने गरि लाग्ने ट्रेण्ड पछिल्लो समय बढ्दै गएको छ। सरकारी तथा गैरसरकारी संस्था, औधोगिक प्रतिष्ठान आदिमा रोजागारीसँगै एकेडेमिक लाईनमा लाग्ने सम्मको अवसर व्यवस्थापन विषय अध्ययन पछि प्राप्त गर्न सकिने भएकाले यस प्रतिको विद्यार्थीको आर्कषण निरन्तर रहिरहने देखिन्छ।
आज पनि विद्यार्थीहरु व्यवस्थापन सहित अन्य विषय अध्ययनका लागि विभिन्न देशमा गैरहेको अवस्था छ,यो रहर हो कि बाध्यता?
केहि वर्ष यता देखि नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशीने प्रचलन बढ्दै गएको पाईन्छ। तथापी पछिल्लो तथ्याकंले विदेश अध्ययनका लागि लिनुपर्ने एनओसी लिनेको संख्यामा अघिल्ला वर्षहरुमा भन्दा केहि कमी भएको देखाएको छ। मानिसले अवसरको खोजी गर्नू स्वभाविक हो।अवसरका लागि विदेश जानु हाम्रो वाध्यता पनि हो। विश्व प्रसिद्ध विश्वविद्यालय तथा कलेजहरुमा अध्ययन गर्न चाहना राख्ने विद्यार्थीहरु पनि छन्। मुख्य कुरा वाध्यताले विदेश जाने विद्यार्थीहरुलाई रोक्ने सन्दर्भमा सरकार, विश्वविद्यालय र सम्वन्धीत सवै पक्षको एकिकृत प्रयास हुन जरुरी देखिन्छ।
कोर्सको डिजाईन समयको आवश्यकता र अनुकुल बनाउन जरुरी छ।डिप्लोमा पास गरेको विद्यार्थीले एउटा निवेदन पनि लेख्न सक्दैन भने त्यस्ता विद्यार्थीले आफुलाई कसरी समय अनुकुल बनाउन सक्लान, उनीहरु कसरी वजारको माग अनुसारको जनशक्ति बन्न सक्लान। त्यसैले अध्ययन पश्चात विद्यार्थीले यो यो काम गर्न सक्नेछन भन्ने स्प्रष्ट हुदै विद्यार्थीलाई सोही अनुकुलको वनाउन सक्ने शिक्षा आजको आवश्यकता हो। विद्यार्थीलाई जव सम्म सीप सँग जोड्न सकिदैन तव सम्म शिक्षामा हामीले खोजेको उद्देश्य र लिएको लक्ष्य पूरा हुन सक्दैन। वजारले माग गरे अनुसारको सीप विद्यालय तह देखिनै आवश्यक छ।
सीप विनाको सैद्धान्तिक शिक्षा हाम्रो कमजोरी हो। सीप बिनाको रोजगारी र उद्यमशिलता सम्भव देखिदैन। नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जान रोक्ने भनेकै शिक्षालाई सीप सँग जोड्दै रोजगारीका अवसरहरु सृजना गर्नूनै विकल्प हो। पछिल्लो समय LMDP अर्थात लेभर मार्केट ड्रिभन प्रोग्रामको अवधारणा आएको छ। विद्यालय देखि विश्वविद्यालयका कोर्सहरु यहि अनुकुलको वनाउन सके विद्यार्थीहरु जसरी अध्ययनसँगै अवसरको खोजीमा विदेशीएका छन् यसमा विस्तारै कमी आउने छ।
यसका लागि नेपालकै सवैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयको पहललाई कसरी हेर्न सकिन्छ?
लाखौं नेपाली विद्यार्थी र अभिभावक जोडिएको नेपालको सवैभन्दा ठुलो र जिम्मेवारी बोकेको त्रिभुवन विश्वविद्यालयले विगतमा के गर्यो र के भयो भन्दा पनि अब के र कसरी गर्छ भन्ने विषय सान्दरभिक हुन्छ। विश्वविद्यालयमा नयाँ पदाधिकारीहरुले जिम्मेवारी लिएसँगै यस विषयमा थुप्रै पहलहरु भएको देखिएको छ। अहिलेका आवश्यकतालाई बुझदै, जुन उद्देश्य र भिजन लिएर उहाँहरु आउनु भएको छ यसले आगामी दिनमा यस्ता विषयहरुलाई सम्वोधन गर्ने सन्र्दभमा पहल हुने आशा गर्न सकिन्छ।
देशका ८० प्रतिशत भन्दा बढि संख्यामा विद्यार्थीहरु अध्ययन गर्ने विश्वविद्यालयसँगै यस अन्तरगत रहेका कलेजहरुको असतित्व जोगाई राख्न पनि विश्वविद्यालयले पहल लिन जरुरी छ। विद्यार्थीहरुले प्रमाणपत्र प्राप्त गरिसकेपछि कुनै न कुनै सीपको विकास गर्न जरुरी छ। यसका लागि कोर्स समयअनुकुल बनाउने देखि उनीहरुलाई उद्योग, प्रतिष्ठान, उद्यम र सीपसँग जोड्नु अपरिहार्य हुन्छ।अध्ययन गर्दै गर्दा पनि विभिन्न अवसरको वातावरण वनाउने नीति आवश्यक छ।
व्यवस्थापन सँगै अन्य विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि इन्टन सीपको आवश्यकता हुन्छ, विद्यार्थीहरुलाई यसको व्यवस्था गर्न विश्वविद्यालय र कलेजहरुलाई कत्तिको अफठयारो हुने गरेको छ?
विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानको लागि इन्टन सीपको आवश्यकता पर्छ। व्यवस्थापनको सन्दर्भमा उद्योग प्रतिष्ठान, बैंक बीमा जस्ता क्षेत्रहरु आवश्यक पर्ने भएपनि नेपालमा सहजै विद्यार्थीहरुलाई प्रशिक्षार्थीका रुपमा राख्न सहज अवस्था छैन। बहुराष्ट्रिय कम्पनीहरुमा त झन प्रवेश पाउनु कठिन देखिन्छ। गोपनीयता लगायतका कारण विद्यार्थीहरुलाई इन्टनमा राख्न असहज मानेको पनि देखिएको छ। तर नेपालमै उधोग संचालन गरिसकेपछि नेपालका विद्यार्थीहरुलाई उनीहरुले इन्टनका लागि निश्चित संख्या छुट्टयाउन आवश्यक हुन्छ। नेपाली विद्यार्थीहरुलाई ज्ञान र सीप सिकाउनु उनीहरुको पनि दायित्व हो। सरकारले पनि नीतिमै यो विषयलाई उल्लेख गर्न आवश्यक छ।
व्यवस्थापन विषय अध्ययनका लागि शंकरदेव क्याम्पसले आफनो नाम स्थापीत गराएको छ, विद्यार्थीहरुले यो क्याम्पस रोज्नुको कारण के होला?
नेपालमा बाणिज्य शास्त्रका रुपमा अध्यापन हुन थाले देखिनै यो क्याम्पसको भुमिका र योगदान महत्वपुर्ण रहिआएको छ। एक हिसावमा भन्ने हो भने नेपालमा व्यवस्थापन अध्ययन र शंकरदेव पर्यावाची वनेको छ। यसको पछाडीको कारण भनेको क्याम्पसले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा नै हो। आज नेपाल राष्ट्र बैकदेखि व्यवस्थापनका विभिन्न प्रतिष्ठान र निकायमा यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुको संख्या उल्लेखनीय रहेको छ।
अर्को त्रिविको फयाक्लटी अफ म्यानेजमेन्टले यस क्याम्पसलाई दिएको प्राथामकिता पनि हो। नयाँ -नयाँ कार्यक्रम यसै क्याम्पसवाट सूरुवात हुने र यहाँ सफल भएपछि मात्र अन्यलाई स्वीकृती प्रदान गरिने भएकाले पनि विद्यार्थीहरुले यस क्याम्पस मार्फत नयाँ कार्यक्रम अध्ययन गर्न अवसर पाउने अवस्था पनि रहेको छ। यसका साथै डेडिकेटेड पुर्णकालिन प्राध्यापक र धेरै कार्यक्रमहरु पनि यहाँको आर्कषण हो। अर्को काठमाडौँ उपत्यकाको मुख्य र सवैतिरवाट पायक पर्ने स्थानमा भएकाले पनि यस क्याम्पसमा अध्ययन गर्न विद्यार्थीहरुलाई सहज रहेको छ।
अन्त्यमा व्यवस्थापन विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई के भन्नुहुन्छ?
व्यवस्थापन विषय बहुआयामिक विषय भएकाले पनि यसको भविष्य जुनसुकै पेशा व्यवसायमा रहेको छ। विगतमा रोजगारीमा सिमित रहेको व्यवस्थापनको अध्ययन आज विद्यार्थीलाई उद्योगी बनाउन सिकाउने मात्र होईन रोजगारी सृजना गराउने विषय पनि भएकाले व्यवस्थापन विषयको अध्ययन गर्ने यहाँहरुको सोच आफनो लागि मात्र होईन अन्यको लागि समेत फाईदा पुग्ने खालको देखिन्छ। सहि क्याम्पसको छनोटले अध्ययनको गुणस्तरियतामा प्रभाव पार्ने भएकाले उपयुक्त कलेज तथा क्याम्पसको छनोट गर्न विद्यार्थीहरुलाई म आग्रह गर्दछु।