काठमाडौँ- विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिलाई सूचना प्रविधि (आईटी) उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ पहल अघि बढाएको छ। मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा निजी क्षेत्रसँगको सहकार्यमा विश्वविद्यालय र उद्योग सहकार्यलाई संस्थागत बनाउने योजना सार्वजनिक गरेको हो।
इन्फर्मेसन टेक्नोलोजी सोसाइटी (आईटीएस) नेपाल र नेपाल चेम्बरअन्तर्गतको आईसीटी समितिको सहकार्यमा आयोजित ‘नवप्रवर्तन, प्रविधि हस्तान्तरण, प्रतिभा विकास तथा विश्वव्यापी सहकार्यमार्फत नेपालको डिजिटल अर्थतन्त्रलाई तीव्रता दिने’ विषयक राष्ट्रिय गोलमेच छलफलमा सरकारका मन्त्री, विश्वविद्यालयका नेतृत्व तथा सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालयदेखि विश्वविद्यालयसम्म सूचना प्रविधिको प्रयोग र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।
उनले डिजिटाइजेसन, समावेशी शिक्षा र डिजिटल सीप विकासलाई शिक्षा प्रणालीसँग जोड्ने गरी आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिए।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सूचना प्रविधि क्षेत्र नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बन्न सक्ने उल्लेख गर्दै युवाका लागि उच्च आम्दानीसहितको रोजगारी सिर्जना गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
कम लगानीमा सीप र दक्षताका आधारमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने भएकाले आईटी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। शिक्षा मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यालय र विश्वविद्यालयमा सूचना प्रविधिको प्रयोग विस्तार, युवालाई यस क्षेत्रमा आकर्षित गर्ने तथा आवश्यक नीतिगत सुधारका लागि सरोकारवालासँग छलफल गरिएको जानकारी दिए।
मन्त्रालयका अनुसार विश्वविद्यालय नेतृत्व, नीति निर्माता तथा आईटी उद्योगबीच संस्थागत सहकार्य विकास गर्दै देशभित्रै रोजगारीका अवसर विस्तार गर्ने, विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहित गर्ने तथा दक्ष जनशक्तिको विदेश पलायन (ब्रेन ड्रेन) न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
यसै रणनीतिअन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयले नवनियुक्त उपकुलपतिहरूलाई चालु शैक्षिक सत्रदेखि सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा वार्षिक रोजगार तथा करियर मेला सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
साथै, सूचना प्रविधि क्षेत्रका कम्पनीहरूसँग सहकार्य गरी अध्ययन पूरा हुनुअघि नै योग्य विद्यार्थीलाई सशर्त रोजगारी प्रस्ताव उपलब्ध गराउने संयन्त्र विकासका लागि निजी क्षेत्रसँग समन्वय अघि बढाइएको मन्त्रालयले जनाएको छ। यसबाट विद्यार्थीले अध्ययनकै क्रममा आफ्नो सम्भावित करियरको स्पष्ट मार्गचित्र बनाउन सक्ने अपेक्षा गरिएको छ।
सीप अन्तर न्यूनीकरणलाई समेत प्राथमिकतामा राख्दै स्नातक तहबाट उत्पादन हुने जनशक्तिको प्राविधिक तथा व्यावसायिक सीपको मूल्याङ्कन गरी उद्योगको आवश्यकता अनुरूप पाठ्यक्रमलाई थप व्यावहारिक, अद्यावधिक र समयानुकूल बनाइने मन्त्रालयले जनाएको छ।
योजनाअनुसार विश्वविद्यालय र आईटी उद्योगको सहकार्यमा वैकल्पिक विषय विकास, उद्योग विशेषज्ञद्वारा अतिथि व्याख्यान तथा अन्तिम वर्षका परियोजनाको संयुक्त मूल्याङ्कन गरिनेछ। यसले विद्यार्थीलाई उद्योगमैत्री दक्षता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, मन्त्रालयले क्रेडिटमा आधारित इन्टर्नसिप तथा आवासीय व्यावसायिक संलग्नताको मापदण्ड विकास गर्ने प्रक्रिया अघि बढाएको छ। इन्टर्नसिपलाई अध्ययनको अभिन्न अङ्गका रूपमा शैक्षिक क्रेडिटसँग आबद्ध गरिनेछ भने ‘अर्न ह्वाइल यू लर्न’ अवधारणालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रसँगको सहकार्यमा इन्टर्न विद्यार्थीलाई आधारभूत पारिश्रमिक उपलब्ध गराउने वातावरणसमेत निर्माण गरिनेछ।
विद्यार्थी र उद्योगबीचको समन्वयलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन प्रमाणित इन्टर्नसिप तथा रोजगारीका अवसर एकीकृत रूपमा उपलब्ध गराउने केन्द्रीय डिजिटल पोर्टल सञ्चालनको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस पहलले विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै नेपालको डिजिटल अर्थतन्त्रको विकास, नवप्रवर्तन प्रवर्द्धन तथा दक्ष मानव संसाधन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।