काठमाडौँ - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको नीतिगत तथा संरचनागत सुधारलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन्। उनले बहुप्रतिक्षित विद्यालय शिक्षा ऐनलाई व्यवहारिक, दिगो र दीर्घकालीन बनाउन निजी क्षेत्रसँग निरन्तर संवाद र परामर्श गरिने स्पष्ट पारे।
मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा एनप्याब्सन, प्याब्सन, हिसानलगायत निजी विद्यालयसँग आबद्ध विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षा सुधार सरकारको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गरिने बताए।
छलफलमा विद्यालय शिक्षाको वर्तमान अवस्था, निजी विद्यालयहरूले भोगिरहेका चुनौती, गुणस्तरीय शिक्षा प्रवर्द्धन, विद्यालय शिक्षा ऐनको तयारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको थियो।
मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रबीच विश्वास, समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै शिक्षा सुधारका कार्यक्रम अघि बढाइने बताए। उनले विद्यालय शिक्षा ऐन निर्माण प्रक्रियामा निजी क्षेत्रको रचनात्मक सुझाव र सहयोगलाई मन्त्रालयले महत्वका साथ लिने धारणा राखे।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हटाउन आफूले सुरुदेखि नै पहल गरेको उल्लेख गर्दै सरकारको हालैको निर्णयले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश गएको बताए। साथै, छात्रवृत्ति वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सुधारका काम अघि बढाइरहेको जानकारी दिए।

शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति, योजना तथा कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने सरकारको प्रतिबद्धता दोहोर्याए। उनले विद्यालय शिक्षा ऐन यथाशीघ्र ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि निजी क्षेत्रको रचनात्मक सहयोग अपरिहार्य रहेको बताए।
छलफलमा सहभागी निजी विद्यालयका प्रतिनिधिहरूले शिक्षा क्षेत्रका नीतिगत विषयमा सरकारसँग प्रत्यक्ष संवाद गर्ने अवसरको स्वागत गर्दै यस्ता संवादलाई नियमित बनाउन आग्रह गरे। उनीहरूले ३ प्रतिशत समता शुल्क हटाउने सरकारको निर्णयको स्वागत गर्दै विद्यालय शिक्षा ऐन निर्माण र समग्र शिक्षा सुधारका प्रयासमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
