काठमाडौँ - त्रिभुवन विश्वविद्यालयअन्तर्गत आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले नेपाली विद्यार्थीको बढ्दो विदेशमोहको कारण पहिचान गरी सरकारलाई नीतिगत सुझाव दिने उद्देश्यसहित अनुसन्धान प्रक्रिया अघि बढाएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सञ्चालन हुने अनुसन्धानका लागि सेडाले प्रारम्भिक कार्यशाला सम्पन्न गरेको हो। अनुसन्धानमार्फत नेपाली विद्यार्थी विदेश अध्ययनतर्फ आकर्षित हुनुका आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तथा प्राविधिक कारणहरूको गहिरो अध्ययन गरिने जनाइएको छ। यस क्रममा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थी, अभिभावक र अन्य सरोकारवालासँग अन्तरक्रिया तथा तथ्यगत अध्ययन गरी नेपाल सरकारलाई आवश्यक नीतिगत सुझाव प्रदान गरिनेछ।

अनुसन्धान टोलीमा सेडाका कार्यकारी निर्देशक प्रा. डा. अर्जुनकुमार बराल, डा. रामकुमार फुयाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक नवीन अधिकारी सहभागी छन्।कार्यशालामा बोल्दै सेडाका कार्यकारी निर्देशक प्रा. डा. अर्जुनकुमार बरालले पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थी ठूलो संख्यामा विभिन्न मुलुकमा अध्ययनका लागि गइरहेको उल्लेख गर्दै त्यसका वास्तविक कारणहरू सरकारी तथ्याङ्क, स्वतन्त्र अध्ययन, विज्ञ तथा सरोकारवालासँगको छलफलमार्फत विश्लेषण गरिने बताए। प्राप्त निष्कर्षका आधारमा सरकारलाई प्रमाणमा आधारित नीतिगत सिफारिस गरिने उनले बताए।
अनुसन्धानकर्ता डा. रामकुमार फुयाल र उपप्राध्यापक नवीन अधिकारीले अनुसन्धानलाई वैज्ञानिक, व्यावहारिक र तथ्यपरक बनाउन विद्यार्थी तथा अभिभावकबाट प्रश्नावलीमार्फत आवश्यक जानकारी संकलन गरिने जानकारी दिए। कार्यशालामा सहभागी विज्ञहरूले अनुसन्धानलाई अझ प्रभावकारी बनाउन विदेश गइसकेका विद्यार्थीका अनुभव, नेपालका शैक्षिक संस्थाको पाठ्यक्रम र परीक्षा प्रणाली, रोजगारीको अवस्था, पारिवारिक दबाब, बदलिँदो सामाजिक संस्कृति तथा युवाको मनोसामाजिक अवस्थालाई पनि अध्ययनमा समेट्न सुझाव दिएका थिए।
यस अवसरमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. शिवलाल भुसाल, मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन डा. खोमराज खरेल, पूर्वसहायक डिन प्रा. डा. ताराप्रसाद भुसाल, भूगोल केन्द्रीय विभागका प्रमुख प्रा. डा. उमेशकुमार मण्डल तथा ग्रामीण विकास अध्ययन केन्द्रीय विभागका प्रमुख डा. सुमन खरेललगायतले अनुसन्धानलाई अझ व्यापक र उपयोगी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए।
सेडाले यस अनुसन्धानबाट प्राप्त निष्कर्षले नेपाली विद्यार्थीको बढ्दो विदेशगमनको प्रवृत्ति बुझ्न तथा त्यसलाई सम्बोधन गर्ने प्रभावकारी शैक्षिक र नीतिगत योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

