काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्।
सोमवार उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पूँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे।‘आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्के–वढेर काव्यकृतिहरू सिर्जनागरे, त्यसैले, हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकैअघिदेखि प्रारम्भ हुँदै आएको पनि छ ' राष्ट्रपति पौडेलले उल्लेख गरे।
भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने चिन्तन समेटिएको छ। रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा,त्यसको भित्रीभागमा भानुभक्तको जीवनीको झलक,उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापनागरि भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश गरिएको छ । रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि रहेको छ।
त्यसै गरी साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्नु र भानुभक्तकालीन वस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा छन्।उद्यानको अर्को प्रमुख अवधारणा सप्तधाम निर्माण गर्ने रहेको छ। यो अवधारणा वर्तमान नेपालको सङ्घीय संरचनाअन्तर्गत रहेका सातै प्रदेश र प्रमुख सांस्कृतिक स्थलका लघु संरचना निर्माण गरी नेपालको राष्ट्रिय स्वरूपलाई झल्काउनु र राष्ट्रिय एकताको केन्द्रका रुपमा यसलाई विकसित गर्नु हो।
यसअन्तर्गत नेपालको सात प्रदेशका सात प्रसिद्ध धाम निर्माण गरिने छ। पहिलो चरणमा कोशीको बराहक्षेत्रधाम, मधेशको जनकपुरधाम, बाग्मतीको पशुपतिनाथधाम, गण्डकीको मुक्थिनाथ धाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूपश्चिमको वैद्यनाथधाम समेटिएका छन्। यस क्षेत्रमा तत् तत् क्षेत्रका सबै जात जातिका सांस्कृतिक पहिचानलाई थप्दै लैजाने योजना रहेको छ।




