काठमाडौँ- नेपालमा शिक्षक संगठनको स्थापना, विकासक्रम तथा विभिन्न चरणमा भएका शिक्षक आन्दोलनलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा लिखित पुस्तक शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको हो । पुस्तकमा २००७ सालदेखि सुरु भएका शिक्षक संगठनको विकासक्रम, २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन तथा त्यसयताका विभिन्न गतिविधिलाई दस्तावेजका रूपमा समेटिएको छ ।
पुस्तकका लेखक सुवेदीले शिक्षक आन्दोलनको लामो इतिहास भए पनि त्यसको व्यवस्थित अभिलेखीकरण हुन नसकेको बताए। छरिएर रहेका तथ्य तथा घटनालाई संकलन गरी पुस्तक तयार पारिएको सुवेदीले उल्लेख गरे।
पुस्तक लेखनका क्रममा कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न शिक्षक संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरिएको उनले बताए। साथै, शिक्षक आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर समेत सामग्री संकलन गरिएको उनको भनाइ छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा समीक्षकका रूपमा सहभागी पूर्वसचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई र डा. जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकारको दृष्टिकोण विगतदेखि नै उदार हुन नसकेको टिप्पणी गरे।
सरकारले शिक्षकहरूसँग गरेका विभिन्न सम्झौता कार्यान्वयन गर्न पर्याप्त चासो नदेखाएको आरोपसमेत लगाउनुभयो । सरकारको व्यवहारका कारण पछिल्लो समय शिक्षण पेसाप्रति मानिसहरूको आकर्षण घट्दै गएको उनीहरुकाे भनाइ थियो । कार्यक्रममा वक्ताहरूले शिक्षक आन्दोलनको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्नुले नेपालको शैक्षिक तथा सामाजिक आन्दोलनको अध्ययनमा समेत महत्वपूर्ण योगदान पुग्ने धारणा राखेका थिए।
