काठमाडौँ- राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यार्थीको इच्छाविपरीत विद्यालयमा जबर्जस्ती कपाल काट्ने वा कटाउने कार्य तत्काल रोक्न देशभरका सबै विद्यालयलाई आग्रह गरेको छ। परिषद्ले हालै विभिन्न विद्यालयमा विद्यार्थीको सहमतिबिनै कपाल काटिएको सम्बन्धमा उजुरी तथा जानकारी प्राप्त भएपछि विज्ञप्तिमार्फत यस्तो कार्य नगर्न विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिलाई सचेत गराएको हो।

परिषद्का अनुसार बालबालिकाको इच्छाविपरीत कपाल काट्ने कार्यले उनीहरूको आत्मसम्मान, मर्यादा तथा शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्न सक्छ। अनुशासन कायम गर्ने नाममा शारीरिक वा मानसिक दण्ड दिने तथा अपमानजनक व्यवहार गर्ने कार्य कानुनविपरीत हुने परिषद्ले स्पष्ट गरेको छ। परिषद्ले बालबालिका सम्बन्धी ऐन, २०७५ को व्यवस्था स्मरण गराउँदै घर, विद्यालय वा अन्य कुनै पनि स्थानमा बालबालिकालाई शारीरिक वा मानसिक दण्ड दिने, अपमानित गर्ने वा अमर्यादित व्यवहार गर्ने कार्यलाई बालबालिकामाथिको हिंसाका रूपमा लिइने जनाएको छ। यस्ता कार्यमा संलग्न हुने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको परिषद्ले उल्लेख गरेको छ।
त्यसैगरी, पोसाक वा साजसज्जासम्बन्धी मापदण्ड पालना नगरेको, विद्यालय शुल्क नतिरेको वा अन्य कुनै कारण देखाएर विद्यार्थीलाई सार्वजनिक रूपमा अपमानित गर्ने, विभेदपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने कार्य नगर्न पनि परिषद्ले विद्यालयहरूलाई आग्रह गरेको छ।
विद्यार्थीको शारीरिक स्वरूप, पहिचान, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, चरित्रमाथि प्रश्न उठाउने, लाञ्छित गर्ने वा लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने जस्ता गतिविधि पनि पूर्ण रूपमा निषेध गर्न परिषद्ले निर्देशन दिएको छ।
शिक्षा नियमावलीले समेत विद्यालय परिसर वा कक्षाकोठाभित्र विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने व्यवस्था गरेको परिषद्ले स्मरण गराएको छ। विद्यालयमा बालअधिकार, सम्मान र संरक्षण सुनिश्चित हुने वातावरण निर्माण गर्न आवश्यक आचारसंहिता तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न परिषद्ले सबै विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई आग्रह गरेको छ।