काठमाडौँ- नबिल बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेसन हब’ सञ्चालनमा ल्याएको छ। हबको उद्घाटन सोमबार नेपालका लागि साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य तथा वरिष्ठ व्यवस्थापनका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैंकका अनुसार एजुकेसन हब विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालाका लागि विशेष सेवा केन्द्रका रूपमा सञ्चालन गरिएको हो। यहाँ शिक्षा कर्जा, विदेशी मुद्रा सेवा, वित्तीय योजना, बैंकिङ मार्गदर्शन तथा परामर्श सेवा एकै स्थानबाट उपलब्ध गराइनेछ।
अध्यक्ष निर्वाणकुमार चौधरीले विद्यार्थीलाई आवश्यक वित्तीय पहुँच, मार्गदर्शन र बैंकिङ सहयोग उपलब्ध गराउने उद्देश्यले हब स्थापना गरिएको बताए। उनले शिक्षामा गरिने लगानीले व्यक्ति मात्र नभई परिवार, समाज र राष्ट्रको भविष्य निर्माणमा योगदान पुर्याउने उल्लेख गरे। साथै, देशभरका शाखामा क्रमशः एजुकेसन हबसम्बन्धी सेवा काउन्टर विस्तार गर्ने योजना रहेको जानकारी दिए।
उद्घाटन कार्यक्रममा बोल्दै अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले यो पहलले नेपाल–अस्ट्रेलिया सम्बन्धमा शिक्षामार्फत मानव पूँजीमा लगानी गर्ने साझा प्रतिबद्धता झल्काएको बताए। भरपर्दो र पारदर्शी प्रणालीले विद्यार्थी, परिवार, शैक्षिक संस्था र वित्तीय सेवा प्रदायकबीच विश्वासको वातावरण निर्माण गर्ने उनको भनाइ थियो।
नबिल बैंकका सञ्चालक अनन्त पौड्यालले विद्यार्थी र अभिभावकको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर हब स्थापना गरिएको बताए। उनका अनुसार हबले शिक्षा कर्जा मात्र नभई विदेश अध्ययनको सम्पूर्ण यात्रामा आवश्यक बैंकिङ सेवा र वित्तीय सहजीकरण प्रदान गर्नेछ।
प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको एकीकृत शैक्षिक बैंकिङ सेवा पहिलो पटक सुरु गरिएको दाबी गरे। अन्तर्राष्ट्रिय शिक्षातर्फ बढ्दो आकर्षणसँगै विद्यार्थीको आवश्यकता वित्तीय सहयोगभन्दा धेरै फराकिलो भएको भन्दै उनले हबलाई ‘वान स्टप सोलुसन’ का रूपमा विकास गरिएको बताए। बैंकले विदेश अध्ययनको प्रारम्भिक योजना, भर्ना प्रक्रिया, कर्जा व्यवस्थापन, विदेशी मुद्रा सेवा, अध्ययन अवधिभरको बैंकिङ सहायता तथा अध्ययनपछि कर्जा भुक्तानी व्यवस्थापनसम्मका सेवा एकीकृत रूपमा उपलब्ध गराउने जनाएको छ। शैक्षिक कर्जामा अध्ययन अवधिभर मोरेटोरियम सुविधा उपलब्ध हुने भएकाले विद्यार्थीलाई नियमित किस्ता तिर्नुपर्ने दबाब कम हुने बैंकको दाबी छ।
नबिल बैंकले एजुकेसन हबलाई शाखाको विकल्प नभई शाखा सेवालाई थप प्रभावकारी बनाउने विशेषीकृत केन्द्रका रूपमा सञ्चालन गरिएको स्पष्ट पारेको छ। बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।