काठमाडौँ- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि साउन महिनादेखि लागू हुने नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सबै सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विवरण उपलब्ध गराएको हो। गत साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान लागू गर्ने निर्णय गरेको थियो। यसअघि सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने तथा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो।
नयाँ व्यवस्थाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीले नयाँ तलबमानअनुसार सेवा–सुविधा प्राप्त गर्नेछन्। उनीहरूले अनुसूची १ देखि ८ सम्म उल्लेखित तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा वृद्धि भएको तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ता पाउने व्यवस्था गरिएको छ। उक्त तलबमान निवृत्तभरण (पेन्सन) प्रयोजनका लागि समेत लागू हुने मन्त्रालयले जनाएको छ।
सार्वजनिक गरिएको तलबमानअनुसार मुख्य सचिवको प्रारम्भिक मासिक तलब ८४ हजार ९३२ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी राजपत्रांकित विशिष्ट श्रेणीको तलब ७९ हजार २९० रुपैयाँ र अतिरिक्त सचिव (पेन्सन प्रयोजन) को तलब ६६ हजार ५३९ रुपैयाँ कायम गरिएको छ।
यस्तै, राजपत्रांकित प्रथम श्रेणीको तलब ६२ हजार ४६६ रुपैयाँ, द्वितीय श्रेणीको ५३ हजार ६११ रुपैयाँ र तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तोकिएको छ।
राजपत्र अनंकिततर्फ प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन) को तलब ४१ हजार ५१७ रुपैयाँ, प्रथम श्रेणीको ३८ हजार २०३ रुपैयाँ, द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन) को ३७ हजार ४०७ रुपैयाँ, द्वितीय श्रेणीको ३६ हजार १९२ रुपैयाँ, तृतीय श्रेणीको ३० हजार ३७३ रुपैयाँ तथा चतुर्थ श्रेणीको २८ हजार ६९० रुपैयाँ कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ।





