काठमाडौँ- कम्प्युटर इन्जिनियरिङतर्फ ३.९९ जीपीए प्राप्त गर्दै नेपाल टप गर्न सफल नेपाल इन्जिनियरिङ कलेज, दुवाकोट, चाँगुनारायण, भक्तपुरका विद्यार्थी विष्णु शर्मा पुरस्कृत भएका छन्। नेपाल इन्जिनियरिङ कलेजले २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा शर्मालाई सम्मान गरेको हो।

शर्माले उत्कृष्ट विद्यार्थीका रूपमा ‘चेयरमेन प्राइड अवार्ड’ समेत प्राप्त गरेका छन्। उनले कम्प्युटर इन्जिनियरिङतर्फ प्रोग्राम टपरसँगै साइन्स अवार्ड र कम्प्युटर साइन्स अवार्ड पनि हात पारेका थिए। कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुरानीले शर्मालाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न इन्जिनियरिङ कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो। सिभिल इन्जिनियरिङतर्फ ३.९७ जीपीए प्राप्त गरेकी सुजाता बोहरा प्रोग्राम टपर बनिन्। उनले मेकानिक्स, प्रोग्रामिङ, वाटर, स्ट्रक्चर र म्याथम्याटिक्स अवार्डसमेत प्राप्त गरिन्।
त्यस्तै, सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ ३.८० जीपीएसहित सृष्टि चौधरी प्रोग्राम टपर बनिन्। इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ ३.८५ जीपीए ल्याएका विजय पौडेल प्रोग्राम टपर बने भने उनले कम्युनिकेशन अवार्डसमेत प्राप्त गरे। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ घृष्णा निरौला ३.३६ जीपीएसहित प्रोग्राम टपर घोषित भइन्।
अवार्ड तथा सम्मान वितरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्री, कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि तथा सञ्चालक समिति सदस्य प्राध्यापक सावित्री त्रिपाठीलगायत विभागीय प्रमुख र शिक्षकहरूको सहभागिता थियो। सो अवसरमा कलेजले विभिन्न विषय तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत अवार्ड, प्रमाणपत्र तथा सम्मान प्रदान गरेको थियो।
बिदाइ कार्यक्रममा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकलका अर्जुन मण्डल, इलेक्ट्रिकल तथा कम्युनिकेसनका विजय पौडेल, सिभिल एन्ड रुरलका आशिष फुयाल, सिभिल इन्जिनियरिङकी सुजाता बोहरा र कम्प्युटर इन्जिनियरिङकी अरुणा थापाले कलेजमा अध्ययन गर्दाका अनुभव र सिकाइ साझा गरेका थिए। उनीहरूले कलेजबाट प्राप्त ज्ञान तथा सीपलाई व्यावहारिक जीवनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल इन्जिनियरिङ कलेजमा आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङसहित डिप्लोमा होल्डर्सका लागि स्नातक तहका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।