काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बदलिँदो अर्थतन्त्र र विश्व श्रम बजारको आवश्यकताअनुसार नेपालको शिक्षा प्रणालीलाई समयअनुकूल बनाउनुपर्ने बताएका छन्। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) द्वारा आयोजित १५औँ कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन गर्दै अध्यक्ष अग्रवालले शैक्षिक संस्था, सरकार र उद्योग–व्यवसाय क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले नेपालमा युवा जनशक्तिको कमी नभए पनि उनीहरूको प्रतिभालाई सीप, उत्पादकत्व, उद्यमशीलता र अर्थपूर्ण रोजगारीमा रूपान्तरण गर्नुपर्ने बताए। प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटलाइजेसन, भूमण्डलीकरण तथा उपभोक्ताको बदलिँदो व्यवहारले रोजगारी र व्यवसायको परम्परागत स्वरूप तीव्र रूपमा परिवर्तन गरिरहेको उनको भनाइ थियो। अग्रवालले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने, अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिने र विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर नेपाली युवासँग रहेको बताए। सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन तथा आतिथ्य, जलविद्युत्, हरित ऊर्जा, उत्पादन तथा निर्यात, आधुनिक कृषि, बैंकिङ, वित्तीय सेवा, स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा रोजगारी तथा व्यवसायको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।
उनका अनुसार निजी क्षेत्रले शैक्षिक डिग्रीसँगै व्यावहारिक क्षमता, समस्या समाधान गर्ने सीप, सञ्चार क्षमता, जिम्मेवारीबोध र चरित्र भएका जनशक्तिलाई प्राथमिकता दिन थालेको छ। उच्च अंक वा स्वर्ण पदक मात्र व्यावसायिक सफलताको आधार बन्न नसक्ने भन्दै उनले वास्तविक कार्यक्षमता र व्यवहारिक ज्ञानलाई महत्व दिनुपर्ने बताए। एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको साधनका रूपमा प्रयोग गर्न युवाले सिक्नुपर्ने उनको भनाइ थियो। प्रविधिको विकास भए पनि नैतिकता, सहानुभूति, विवेक, नेतृत्व, साहस र जिम्मेवारीजस्ता मानवीय गुणलाई प्रविधिले प्रतिस्थापन गर्न नसक्ने उनले बताए। आज सिकेको ज्ञान भोलि नै पुरानो हुन सक्ने भएकाले युवाले जीवनभर सिकिरहने संस्कार विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
अग्रवालले विश्वविद्यालय तथा तालिम संस्थाहरूले उद्योगको आवश्यकता पहिचान गरी पाठ्यक्रम र शिक्षण पद्धति विकास गर्नुपर्ने बताए। व्यावहारिक शिक्षा, इन्टर्नसिप, उद्यमशीलता, व्यावसायिक सीप, डिजिटल दक्षता र उद्योग-शैक्षिक सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकार, शैक्षिक संस्था र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उनले बताए। लगानीको संरक्षण, उद्यमशीलताको प्रोत्साहन, नवप्रवर्तनको सम्मान र योग्यताको कदर हुने वातावरण निर्माण गर्न सके रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बलियो हुने उनले उल्लेख गरे।
नेपालसँग युवा जनशक्ति, प्राकृतिक स्रोत, उद्यमशील ऊर्जा र दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक भौगोलिक अवस्थिति रहेको भन्दै अग्रवालले यी सम्भावनालाई उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र समृद्धिमा रूपान्तरण गर्नुपर्ने बताए।
उनले विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, सीप विकास गर्न, प्रविधिलाई आत्मसात् गर्न र इमानदारी कायम राख्न आग्रह गरे। केवल रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्ने भन्दै उनले नेपालमै व्यवसाय निर्माण गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न युवाको महत्वपूर्ण भूमिका रहने बताए।