काठमाडौँ - महिला तथा बालबालिकामाथि हुने हिंसा र यौनजन्य दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको बैठकमा सांसदहरूले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनी, शैक्षिक तथा अनुसन्धान प्रणालीमा सुधार आवश्यक रहेको बताएका हुन्।
बैठकमा बोल्दै सांसद आकृति अवस्थीले महिला सशक्तीकरणको चर्चा भइरहे पनि महिलाहरू वास्तवमै सुरक्षित छन् कि छैनन् भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। कार्यस्थलदेखि सार्वजनिक यातायात र विद्यालयसम्म महिलाले विभिन्न प्रकारका दुर्व्यवहार भोग्नुपरेको उनको भनाइ थियो। उनले विद्यालयमा अभिभावकसरह विश्वास गर्नुपर्ने शिक्षकबाटै छात्रा असुरक्षित हुने अवस्था देखिनु गम्भीर विषय भएको बताइन्। महिलाको पहिरन, शरीर र व्यक्तिगत जीवनलाई लिएर हुने टिप्पणी तथा मूल्यांकनले समेत उनीहरूको आत्मसम्मानमा असर पारिरहेको अवस्थीले उल्लेख गरिन्।
घरभित्रैसमेत महिला असुरक्षित हुने अवस्था रहेको बताउँदै उनले परिवार र समाजको इज्जतका नाममा महिलाको आवाज दबाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै, सांसद रन्जु न्यौपानेले बालबालिका तथा महिलामाथि हुने यौन हिंसा न्यूनीकरणका लागि कक्षा १ देखि १२ सम्म उमेरअनुकूल र वैज्ञानिक यौन शिक्षा अनिवार्य गर्न सरकारसँग माग गरिन्।
उनले यौन शिक्षाप्रति समाजमा रहेको संकोच हटाउँदै विद्यालयका पाठ्यपुस्तकमै उमेरअनुसारको वैज्ञानिक जानकारी समावेश गर्नुपर्ने बताइन्। यौन शिक्षालाई गलत रूपमा बुझ्ने प्रवृत्ति अन्त्य गरी बालबालिकालाई सुरक्षित बनाउने माध्यमका रूपमा यसलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो। न्यौपानेले यौनजन्य अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपालको फरेन्सिक क्षमता विस्तार गर्नुपर्ने र घटनास्थलमा पुग्ने प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सञ्चारमाध्यम, विज्ञापन, कथा तथा चलचित्रमा महिलालाई यौन वस्तुका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति समेत सरकार गम्भीर हुनुपर्ने उनले बताइन्। महिलाप्रतिको सम्मानजनक दृष्टिकोण विकास नगरेसम्म महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न कठिन हुने उनको भनाइ थियो।
महिला तथा बालिकालाई सम्मान गर्ने संस्कारलाई व्यवहारमै स्थापित गर्नुपर्नेमा जोड दिँदै न्यौपानेले नेपाली समाजमा छोरीलाई सम्मान गर्ने परम्परालाई अझ सुदृढ बनाउनुपर्ने बताइन्। पछिल्ला वर्षहरूमा बलात्कारलगायतका गम्भीर यौनजन्य अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै उनले अपराध नियन्त्रणका लागि सरकारले दीर्घकालीन र प्रभावकारी रणनीति बनाउनुपर्ने बताइन्। साथै, यस्ता अपराधमा कानुनी व्यवस्था कस्तो बनाउने भन्ने विषयमा गम्भीर अध्ययन र छलफल आवश्यक रहेको उनले उल्लेख गरिन्।
सांसदहरूको भनाइमा महिला तथा बालबालिकाको सुरक्षा केवल कानुन निर्माणबाट मात्र सम्भव नहुने भएकाले शिक्षा, अनुसन्धान, प्रहरी क्षमता, सामाजिक चेतना र सम्मानजनक संस्कार विकासलाई एकसाथ अघि बढाउन आवश्यक छ।