काठमाडौँ- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसहित सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ। महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको भन्दै दुःख व्यक्त गरेको हो। महासंघले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिको तत्काल खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, संरक्षण र पुनःस्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, नागरिक समाज, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, सञ्चारमाध्यम, युवा तथा स्वयंसेवकहरूलाई समन्वयात्मक रूपमा परिचालित हुन आग्रह गरेको छ।
महासंघले बाढीबाट बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल खोजी तथा उद्धार गरी घाइतेको निःशुल्क उपचार गर्न, मानवीय तथा भौतिक क्षतिको पारदर्शी मूल्यांकन गरी विवरण सार्वजनिक गर्न र राहत वितरणलाई निष्पक्ष, पारदर्शी तथा आवश्यकतामा आधारित बनाउन सरकारसँग माग गरेको छ।
त्यसैगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायलाई विशेष प्राथमिकता दिनुपर्ने महासंघको माग छ। जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद् व्यवस्थापन प्रणालीलाई सुदृढ गर्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसमेत उसले सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघले राहतसँगै प्रभावित बालबालिकाको सिकाइ निरन्तरता सुनिश्चित गर्न र विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नसमेत आग्रह गरेको छ। बाढीका कारण विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा विद्यालय शिक्षालाई निरन्तरता दिन विशेष पहल आवश्यक रहेको महासंघको भनाइ छ।
महासंघले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संरचना तथा सम्पूर्ण विद्यालय व्यवस्थापन समितिलाई सम्बन्धित स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी उद्धार, राहत, बालसंरक्षण तथा विद्यालयको शैक्षिक निरन्तरताका कार्यमा सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ।
महासंघका केन्द्रीय अध्यक्ष काशीनाथ दंगालद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन समयमा सबै पक्षबीच प्रभावकारी समन्वयमार्फत प्रभावित नागरिकको जीवनरक्षा र शैक्षिक निरन्तरतालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।
