काठमाडौँ - भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १६ विद्यालयमा क्षति पुगेको छ। बाढीपछि ती विद्यालयमा अध्ययनरत २३८ विद्यार्थी र १८ शिक्षक गरी २५१ जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार रसुवाका चार, नुवाकोटका आठ र धादिङका चार विद्यालयमा पूर्ण, आंशिक तथा सामान्य क्षति पुगेको छ। बाढीका कारण कतिपय विद्यालय भवन पूर्णरूपमा बगेका छन् भने केही विद्यालयका कक्षाकोठा लेदो, बालुवा र माटोले पुरिएका छन्।
रसुवाको उत्तरगया र गोसाईंकुण्ड गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका तथा धादिङका गल्छी, सिद्धलेक गाउँपालिका र निलकण्ठ नगरपालिकाअन्तर्गतका विद्यालयहरू प्रभावित भएका छन्। रसुवाका चार विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटमा चार विद्यालय पूर्ण र चार विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। धादिङमा भने एक विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने तीन विद्यालयमा आंशिक क्षति पुगेको छ।
नुवाकोटको विदुर नगरपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा आंशिक क्षति पुगेको छ। सो विद्यालयका १२ विद्यार्थी र एक शिक्षक सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। रसुवाको नवविजयी महेन्द्र माध्यमिक विद्यालयका दुई शिक्षक तथा कोमीश्यामेवाङ्फेल माध्यमिक विद्यालयका एक शिक्षकसहित १६ विद्यार्थी सम्पर्कविहीन छन्।
उत्तरगया गाउँपालिकास्थित निलकण्ठ माध्यमिक विद्यालयको भवनमा प्रत्यक्ष क्षति नभए पनि त्यहाँ अध्ययनरत दुई सय विद्यार्थी र चार शिक्षक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। गोसाईंकुण्ड गाउँपालिकास्थित कोमीश्यामेवाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थी र एक शिक्षक पनि बाढीपछि सम्पर्कविहीन छन्। यस्तै, गोसाईंकुण्ड तीर्थयात्रामा गएका धादिङका चार शिक्षकसमेत सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ।
रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत १० शिक्षकमध्ये तीन जना मात्रै सम्पर्कमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
कुन विद्यालयमा कति क्षति?
रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त विद्यालयमा १०९ विद्यार्थी अध्ययनरत छन्।
उत्तरगया गाउँपालिकाका चिप्लेटी आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी बोर्डिङ र मालिकादेवी आधारभूत विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यी विद्यालयका भवन बाढीले बगाएको मन्त्रालयले जनाएको छ।
नुवाकोटको विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बाढीले विद्यालय भवन नै बगाएको मन्त्रालयले जनाएको छ। उक्त विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। बाढी आउनुअघि नै विद्यार्थीलाई घर पठाइएकाले मानवीय क्षति भने हुन पाएन।
त्यस्तै, चण्डेश्वरी माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ, ज्ञानकुञ्ज बोर्डिङ, उत्तरगया पब्लिक इङ्लिस स्कुल, जेडी बोर्डिङ स्कुल र पायोनियर बोर्डिङ स्कुलमा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ।
धादिङको गल्छी गाउँपालिकास्थित बागेश्वरी माध्यमिक विद्यालय, सक्सेस एकेडेमी, अम्लेश्वर गुरुकुल संस्कृत विद्यालय र जलेश्वर माध्यमिक विद्यालय पनि बाढीबाट प्रभावित भएका छन्।
यसैगरी, नुवाकोटको त्रिभुवन बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको छात्रावाससमेत लेदो तथा माटोले पुरिएर क्षतिग्रस्त भएको विवरणमा उल्लेख छ। नुवाकोटको त्रिशूली सामुदायिक बोर्डिङका तीन विद्यार्थी पनि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बाढीबाट भएको शैक्षिक संस्थाको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको जनाएको छ। प्रारम्भिक विवरण थप अद्यावधिक हुन सक्ने मन्त्रालयको भनाइ छ।