काठमाडौँ- रसुवा बाढीबाट प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउन्डेसनले आपत्कालीन सहयोग गर्ने भएको छ।बाढीका कारण विद्यालय भवनमा ठूलो क्षति पुगेपछि पठनपाठन प्रभावित भएको अवस्थामा विद्यार्थीलाई विद्यालय फर्काउन, उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्न र अध्ययनलाई निरन्तरता दिन फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउने भएको हो।
फाउन्डेसनले विद्यालयमा डिजिटल कक्षाकोठाको अवधारणाअनुसार पठनपाठन सञ्चालनका लागि स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ। त्यस्तै, कक्षाकोठाका लागि आवश्यक फर्निचरसमेत उपलब्ध गराइनेछ। विद्यार्थीका लागि स्कुल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। भवनको व्यवस्था भएपछि फाउन्डेसनले आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेछ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। भदौ १० गते आएको बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्याएपछि नियमित पठनपाठन प्रभावित भएको हो। चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको शिक्षालाई निरन्तरता दिन तत्काल विद्यालय सञ्चालनमा ल्याउने उद्देश्य रहेको बताए।
उनले बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाप्रति संवेदनशील हुँदै आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत विद्यालयमा जतिसक्दो चाँडो पठनपाठन सुरु गर्ने तयारी गरिएको बताए। उनका अनुसार विद्यालयलाई आवश्यक भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिनेछ।
विद्यालयको पठनपाठन तत्काल सञ्चालन गर्ने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। उक्त छलफलपछि फाउन्डेसनले विद्यालय सञ्चालनका लागि आवश्यक सहयोगको तयारी अघि बढाएको हो।
प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले बाढी प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताए। वैकल्पिक भवनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको र भवन उपलब्ध हुनासाथ फाउन्डेसनबाट भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुने उनले जानकारी दिए।
