टोकियो, ४ सेप्टेम्बर २०२६- नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एभरेस्ट इन्टरनेसनल स्कुल, जापान परिवारले ८ लाख ४८ हजार ८४९ रुपैयाँ सहयोग गरेको छ।
विद्यालय परिवारले संकलन गरेको जापानी येन ८ लाख ८८ हजार ८४८ (¥888,848) जापान रेमिट फाइनान्स कम्पनी लिमिटेडमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो। विनिमयपछि उक्त रकम नेपाली रुपैयाँ ८ लाख ४८ हजार ८४९ बराबर भएको विद्यालयले जनाएको छ।
विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी, सञ्चालक, संरक्षक तथा शुभेच्छुकहरूको स्वैच्छिक सहभागिताबाट सहयोग रकम संकलन गरिएको हो।
विद्यालयले विपद्को कठिन घडीमा मातृभूमिप्रतिको जिम्मेवारी, मानवीय संवेदना र सामूहिक ऐक्यबद्धता प्रदर्शन गर्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको जनाएको छ।
एभरेस्ट इन्टरनेसनल स्कुल, जापान नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कक्षा १२ सम्म सञ्चालनको स्वीकृति प्राप्त गरी नेपालबाहिर सञ्चालित नेपाली विद्यालय हो। विद्यालय जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय (MEXT) बाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय विद्यालय तथा क्याम्ब्रिज इन्टरनेसनल एजुकेसन (CIE) मा आबद्ध रहेको जनाइएको छ।
विद्यालय परिवारले सहयोग अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उक्त रकमले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
साथै, बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति विद्यालयले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामनासमेत गरेको छ।




