धादिङ- भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण धादिङका आठ विद्यालयमा भौतिक क्षति पुगेको छ। बाढीपहिरोमा परी तीन शिक्षक तथा पूर्वशिक्षकको मृत्यु भएको छ भने छ जना शिक्षक तथा पूर्वशिक्षक अझै सम्पर्कविहीन रहेको शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले जनाएको छ।
बाढीका कारण विद्यालयका भवन, प्रयोगशाला, फर्निचर, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, खानेपानी, शौचालय, खेलमैदानलगायतका संरचनामा क्षति पुगेको छ । प्रभावित विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक स्थानको व्यवस्था गर्नुका साथै सरसफाइ तथा पुनःस्थापनाको काम भइरहेको एकाइले जनाएको छ । एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार गल्छी गाउँपालिका–६ स्थित वागेश्वरी माध्यमिक विद्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ। बाढी र लेदोका कारण विद्यालयको विज्ञान तथा कम्प्युटर प्रयोगशाला, बालविकासका सामग्री, फर्निचर, चमेनागृह तथा साउन्ड सिस्टम पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालयका तीन भवनको भुइँतलामा लेदो पसेको छ।
विद्यालयको ढलसमेत पुरिएपछि तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिन भएको श्रेष्ठले बताए। निर्माणाधीन अर्को भवनमा फर्निचर नभएकाले आवश्यक फर्निचर व्यवस्थापन गरी केही दिनभित्र त्यही भवनबाट कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ। गल्छी ६ कै अम्लेश्वर गुरुकुल संस्कृतदेवी विद्याश्रमका तीन भवनका आठ कक्षाकोठा, पाठ्यपुस्तक, लत्ताकपडा, फर्निचर, कम्प्युटर तथा शौचालयमा पूर्ण क्षति पुगेको छ। सोही क्षेत्रको सक्सेस एकेडेमीको खेलमैदान र चमेनागृहमा लेदो जमेको छ। सिद्धलेक गाउँपालिका–४ स्थित जलेश्वरी माध्यमिक विद्यालयको खानेपानीको इनार, ट्याङ्की, मोटर, करिब चार सय मिटर विद्युत् तार तथा विद्यालय जाने बाटोमा क्षति पुगेको छ। विद्यालयको शौचालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने खेलमैदानसमेत धसिएको छ।
त्यस्तै, बेनीघाट रोराङ गाउँपालिका–७ स्थित बुद्धिविकास आधारभूत विद्यालयको भवन, पर्खाल, शौचालय, फर्निचर तथा बालउद्यानमा पूर्ण क्षति पुगेको छ। विद्यालयको संरचना प्रभावित भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थानान्तरण गरी पठनपाठन सञ्चालन गरिएको छ। गजुरीस्थित भद्रकाली गुरुकुलको पानी तान्ने मेसिन तथा मझिमटारस्थित शङ्खादेवी माध्यमिक विद्यालयको खानेपानी लाइन र टेवा पर्खालमा समेत बाढीका कारण क्षति पुगेको छ।
३ शिक्षक तथा पूर्वशिक्षकको मृत्यु
बाढीपहिरोमा परी धादिङमा तीन शिक्षक तथा पूर्वशिक्षकको मृत्यु भएको एकाइले जनाएको छ । नीलकण्ठ नगरपालिकास्थित न्यु किबो बोर्डिङ स्कुलमा कार्यरत शिक्षिका इन्दिरा अर्यालको बाढीपहिरोमा परी मृत्यु भएको छ। त्यस्तै, सिद्धलेक गाउँपालिकाका पूर्वशिक्षक हरिप्रसाद सिलवाल र घनश्याम भट्टको पनि बाढीपहिरोमा परी मृत्यु भएको जनाइएको छ।
६ शिक्षक तथा पूर्वशिक्षक सम्पर्कविहीन
बाढीपहिरोपछि धादिङका छ शिक्षक तथा पूर्वशिक्षक अझै सम्पर्कविहीन रहेको एकाइ प्रमुख श्रेष्ठले जानकारी दिए। सम्पर्कविहीन हुनेमा पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ-१२ का ठाकुरप्रसाद लम्साल, देउराली माध्यमिक विद्यालय, नीलकण्ठ-८ की जानुका खनाल र पाल्पा सामरी भन्ज्याङ माध्यमिक विद्यालय, नीलकण्ठ-९ का शिवहरि लम्साल रहेका छन्।
त्यस्तै, भैरवी माध्यमिक विद्यालय, नीलकण्ठ-६ का पूर्वशिक्षक तुलसी तिमल्सेना, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, नीलकण्ठ-३ की पूर्वशिक्षिका ईश्वरी तिमल्सेना र सुनखानी माध्यमिक विद्यालय, ज्वालामुखी-६ का पूर्वशिक्षक नारायणप्रसाद लम्साल पनि सम्पर्कविहीन रहेको एकाइले जनाएको छ।