पाँचथर - रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि पाँचथरका निजी तथा आवासीय विद्यालयहरूले दुई लाख ८२ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाँचथरको समन्वयमा जिल्लाका विभिन्न विद्यालयबाट स्वेच्छिक रूपमा रकम संकलन गरी प्याब्सनको केन्द्रीय राहत कोषमा जम्मा गरिएको हो।
प्याब्सन पाँचथरका अध्यक्ष नबिन ओझाका अनुसार विपद्को कठिन समयमा बाढी प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सहभागितामा सहयोग रकम संकलन गरिएको हो। संकलित रकममध्ये विद्या वरदान इङ्लिस बोर्डिङ स्कुलले सबैभन्दा बढी एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ। नयाँ नमुना माध्यमिक विद्यालय र जुनियर फ्लावरबारी इङ्लिस बोर्डिङ स्कुलले २५–२५ हजार रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, निलकण्ठ भोकेसनल इङ्लिस बोर्डिङ स्कुल, बालकिरण इङ्लिस बोर्डिङ स्कुल, मुक्ततारा इङ्लिस बोर्डिङ स्कुल र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल (राँके) ले १५–१५ हजार रुपैयाँका दरले सहयोग गरेका छन्। समता स्कुलले ११ हजार १ सय ११ रुपैयाँ, नाङ्गिन इङ्लिस बोर्डिङ स्कुलले १० हजार, चोकमागु इङ्लिस बोर्डिङ स्कुलले ११ हजार तथा माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र रामतारा इङ्लिस बोर्डिङ स्कुलले १०–१० हजार रुपैयाँ सहयोग गरेका छन्।
यसैगरी सनसाइन इङ्लिस बोर्डिङ स्कुल (थर्पु) ले पाँच हजार ५ सय ५५ रुपैयाँ तथा मनराज इङ्लिस बोर्डिङ स्कुल र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल (याङवरक) ले पाँच–पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। प्याब्सन पाँचथरले संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। साथै, बाढी तथा अन्य विपद्बबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।