रुकुम पूर्व- भूमे गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थानीय शिक्षण सिकाइ अनुदानका शिक्षक, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको मासिक तलब वृद्धि गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी उनीहरूको तलब पुनःनिर्धारण गरेको हो।
निर्णयअनुसार स्थानीय शिक्षण सिकाइ अनुदानअन्तर्गत माध्यमिक तह कक्षा ९–१० का शिक्षकले अब मासिक २८ हजार रुपैयाँ पाउनेछन्। आधारभूत तह कक्षा ६–८ का शिक्षकको तलब २५ हजार र कक्षा १–५ का शिक्षकको २३ हजार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, विद्यालय सहायक (लेखापाल) को मासिक तलब २२ हजार रुपैयाँ निर्धारण गरिएको छ। संघीय अनुदान प्राप्त बालविकास सहजकर्ता र पालिकाबाट व्यवस्थापन गरिने बालविकास सहजकर्ताले समान रूपमा २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउनेछन्।
विद्यालय सहयोगीमध्ये कक्षा १–८ का लागि १९ हजार ५५० रुपैयाँ र कक्षा १–१२ का लागि २० हजार रुपैयाँ मासिक तलब निर्धारण गरिएको छ। सामुदायिक परिचालकको मासिक पारिश्रमिक पनि १९ हजार ५५० रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार नेपाल सरकारको निर्णय तथा शिक्षा विभागको परिपत्रअनुसार संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा पालिकाले थप रकम व्यहोर्ने व्यवस्था गरेको हो।
यसैगरी, गाउँ कार्यपालिकाको बैठकले वडा नम्बर ३ स्थित भोराबाङ स्वास्थ्यचौकीका लागि एक जना कार्यालय सहयोगी करार सेवामा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि दर विश्लेषण स्वीकृत गर्नुका साथै कृषि विकास सेवा आयोजना तथा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८३ समेत स्वीकृत गरेको गाउँपालिकाले जनाएको छ।