काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव संकलन भइरहेको बताएका छन्।
मन्त्री पोखरेलका अनुसार आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारीसहित ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ लगायतका नयाँ अवधारणाबारे विद्यालय तथा क्याम्पस तहमा प्रत्यक्ष संवाद भइरहेको छ।
सिरहा र सप्तरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा १०० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको उनले जानकारी दिए। मन्त्री पोखरेलले सिरहामा बहिरा बालबालिकाका लागि सञ्चालित विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या र सुझावसमेत लिएको बताए।

उनका अनुसार शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर पाठ्यक्रम तथा शिक्षासम्बन्धी सुझाव संकलन गरिएको थियो। आइतबार सप्तरी हुँदै कार्यक्रम मोरङतर्फ अघि बढाइने उनले जानकारी दिए।
मन्त्री पोखरेलले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति असन्तुष्टि जनाउँदै आफूहरूमाथि भ्रम फैलाउने प्रयास भइरहेको दाबीसमेत गरे।
उनले सरकार राजनीतिक प्रदर्शनका लागि नभई शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले प्रत्यक्ष रूपमा काम गर्न मधेश प्रदेश पुगेको बताए।
मन्त्री पोखरेलले विद्यार्थीको रुचि, आवश्यकता र बदलिँदो समयअनुसार विद्यालय शिक्षालाई परिमार्जन गर्न सरोकारवालाबाट प्राप्त सुझावलाई पाठ्यक्रम सुधारको प्रक्रियामा समेटिने बताएका छन्।
