रुकुमपश्चिम- चौरजहारी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित प्रारम्भिक बालविकास केन्द्रका शिक्षकको तलब तथा कार्यसमय निर्धारण गर्दै नयाँ पाठ्यक्रम कार्यान्वयनसम्बन्धी व्यवस्था गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि लागू गरेको नयाँ तलबमानअनुसार नगर करारमा कार्यरत तथा संघीय अनुदानबाट तलब प्राप्त गर्ने दुवै प्रकारका बालविकास शिक्षकको मासिक तलब १७ हजार रुपैयाँ निर्धारण गरेको छ।
नगरपालिकाले बालविकास शिक्षकलाई अन्य शिक्षकसरह विद्यालयको नियमित शैक्षिक गतिविधिमा सहभागी हुनुपर्ने व्यवस्था गरेको छ। शिक्षकहरू अपराह्न ४ बजेसम्म विद्यालयमा उपस्थित भई अध्यापनसहित तोकिएका शैक्षिक तथा अन्य गतिविधिमा संलग्न हुनुपर्नेछ।
प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०८२ लाई आधार बनाएर बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित सिकाइ व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ। पाठ्यक्रमअनुसार बालविकास तहमा वार्षिक ८३२ कार्यघण्टा र वर्षभरि १९२ दिन पठनपाठन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
बालविकास केन्द्र दैनिक ४ घण्टा ३० मिनेट सञ्चालन हुनेछ। दैनिक कार्यतालिकामा बालबालिकाका लागि कम्तीमा एक घण्टा आराम तथा स्वतन्त्र रूपमा खेल्ने समयसमेत छुट्याइएको छ। यसले बालबालिकालाई औपचारिक सिकाइसँगै खेल तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने लक्ष्य राखेको छ।
पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विभिन्न ६ वटा प्रमुख सक्षमतामा जोड दिएको छ। सर्वाङ्गीण विकासका क्रियाकलापमा सहभागिता, पोषणयुक्त खाना तथा स्वस्थ बानी, व्यक्तिगत सुरक्षाका उपाय, सरसफाइ तथा सामाजिक व्यवहार, सिर्जनात्मक सोच तथा भाषिक र सञ्चार सीप विकासलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, आधारभूत सीप सिकाइका लागि ६ वटा क्षेत्रमा गरी कुल ३८४ कार्यघण्टा निर्धारण गरिएको छ। शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, नैतिक, बौद्धिक तथा मानसिक विकाससँगै स्वास्थ्य, पोषण, सुरक्षा, वातावरण र सिर्जनात्मक सीपलाई सिकाइका आधारभूत क्षेत्रका रूपमा समेटिएको छ।
बालविकास केन्द्रको दैनिक कार्यतालिकालाई पनि विभिन्न चरणमा विभाजन गरिएको छ। सुरुवाती १५ मिनेटमा बालबालिकालाई स्वागत गर्ने, झोला तथा खाजा तोकिएको स्थानमा राख्ने, शौचालय र सरसफाइमा सहयोग गर्ने तथा प्रार्थना र ध्यान गराउने गतिविधि सञ्चालन गरिनेछ।
त्यसपछि ३० मिनेटको केन्द्र प्रवेश तथा सामाजिकीकरण समय तोकिएको छ। उक्त समयमा हाजिरी लिने, दिन, बार तथा मौसमसम्बन्धी जानकारी गराउने, गीत तथा खेल सञ्चालन गर्ने र घेरा समयमा बालबालिकालाई आफ्ना अनुभव तथा विचार आदानप्रदान गर्ने अवसर दिइनेछ।
नगरपालिकाले स्थानीय परिवेश, विद्यालयको अवस्था तथा बालबालिकाको आवश्यकता हेरी दैनिक कार्यतालिकामा आवश्यक समायोजन गर्न सकिने जनाएको छ। नयाँ व्यवस्थाले बालविकास तहमा बालबालिकाको उमेर, रुचि र आवश्यकताअनुकूल सिकाइ, खेल तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित गर्ने उद्देश्य राखेको छ।