काठमाडाैँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने सम्बन्धमा सूचना जारी गरेको छ।
बोर्डले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा अध्ययनरत साधारण, परम्परागत तथा प्राविधिक धारका विद्यार्थीलाई एसईई २०८४ मा सहभागी गराउने प्रयोजनका लागि रजिस्ट्रेसन फाराम भर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको हो।
सूचनाअनुसार विद्यार्थीको रजिस्ट्रेसन फाराम २०८३ कात्तिक ९ गतेदेखि मंसिर १३ गतेसम्म भर्न सकिनेछ । विद्यालयहरूले सम्बन्धित विद्यार्थीको विवरण यकिन गरी फाराम भर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ।
विद्यालयले पूरा गर्नुपर्ने प्रक्रिया
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई आईईएमआईएस (IEMIS) मा लगइन गरी परीक्षा व्यवस्थापन प्रणालीको ‘Registration Form’ मा क्लिक गरेर फाराम भर्ने व्यवस्था मिलाउन भनेको छ। त्यसपछि कक्षा ९ का विद्यार्थीको विवरण लोड गरी रजिस्ट्रेसन फाराम प्रिन्ट गर्नुपर्नेछ।
प्रिन्ट गरिएको फाराममा विद्यार्थीको नाम, थर, जन्ममिति तथा अन्य विवरण जन्मदर्ता प्रमाणपत्रअनुसार ठीक भए/नभएको यकिन गर्नुपर्नेछ । विवरणमा त्रुटि भएमा आवश्यक समन्वय गरी सच्याउनुपर्ने व्यवस्था गरिएको छ ।
विद्यालयले विद्यार्थी तथा अभिभावकबाट फाराम रुजु गराई हस्ताक्षरसमेत गराउनुपर्नेछ। प्रमाणित फाराम विद्यालयमा सुरक्षित राख्दै आवश्यक कागजात र विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ।
विद्यार्थीबापत ३०० रुपैयाँ राजस्व
बोर्डको सूचनाअनुसार प्रत्येक विद्यार्थीबापत ३०० रुपैयाँका दरले राजस्व शुल्क दाखिला गर्नुपर्नेछ। विद्यालयहरूले विद्यार्थी संख्या यकिन गरी तोकिएको राजस्व शीर्षकमा रकम जम्मा गरेर सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा विवरण पेस गर्नुपर्नेछ।
शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयबाट प्राप्त फाराम रुजु गरी राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने प्रक्रिया अघि बढाउनेछ।
त्यसपछि विद्यालयले रजिस्ट्रेसन नम्बर विद्यार्थीको फाराममा उल्लेख गरी आवश्यक प्रमाणित प्रक्रिया पूरा गर्नुपर्नेछ।
विदेशी तथा खुला शिक्षातर्फका विद्यार्थीलाई पनि लागू
बोर्डले भिसा तथा अन्य प्रक्रिया पूरा गरी नेपालका विद्यालयमा कक्षा १० मा भर्ना भएका विदेशी विद्यार्थीको रजिस्ट्रेसन फाराम भर्दा पनि निर्धारित प्रक्रिया अपनाउनुपर्ने जनाएको छ।
त्यस्तै, अनौपचारिक तथा खुला शैक्षिक कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८३ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीको विवरण पनि सम्बन्धित विद्यालयले प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
राष्ट्रिय परीक्षा बोर्डले निर्धारित समयभित्र रजिस्ट्रेसन फाराम भर्ने, विवरण रुजु गर्ने तथा राजस्व दाखिला गर्ने प्रक्रिया पूरा गर्न सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ।
